• १९ पुस २०८१, शुक्रबार

गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ

blog

बुद्धभूमि नगरपालिकामा आयोजना गरिएको नागरिक सुनुवाइ कार्यक्रम । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज २३ गते । जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न कपिलवस्तु प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरीप्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागुऔषध तथा कुलतबाट युवालाई जोगाउन र चाडपर्वमा समुदाय र प्रहरीबिच समन्वय कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले शान्ति सुरक्षा कायम र कानुन पालनासँगै समुदायिक काममा समेत प्रहरीको भूमिका सराहनीय रहेको बताएका छन् । कार्यक्रममा बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभलाल भुसालले समुदायका हरेक पक्षका प्रहरी जोडिएको हुँदा शान्ति सुरक्षा र सामाजिक सहिष्णुता फैलाउने काममा जोड दिनुपर्ने सुझाव दिनुभयो ।  

समाजसेवी हिमलाल न्यौपानेले घटनाको विषयमा प्रहरी प्रमुखसँग सम्पर्क समन्वय गर्न सहज नभएको बताउनुभयो । प्रहरीको काम कर्तव्यको विषयमा आएका रचनात्मक सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।