• १० माघ २०८१, बिहिबार

नवरात्रका केही देवीपीठ

blog

घटस्थापनादेखि देवीस्थलमा भक्तजनको भिड सुरू हुन्छ । नौ दिनसम्म फरक फरक देवीको पूजाआजा गरिन्छ । यी दिनमा शैलीपुत्री, ब्रह्मचारी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा हुन्छ । देवीपीठको दर्शन गर्दा आफ्ना इच्छा र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ । विभिन्न जातजाति र भाषाभाषीलाई एकतामा बाँध्ने माध्यम देवीका मन्दिर बनेका छन् । दसैँको नवरात्रमा भक्तजनको भीड लाग्ने केही देवी मन्दिर : 

पाथीभरा

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट १९ किलोमिटर दुरीमा पाथीभरा मन्दिर छ । यो मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा छ । अन्न भरेको पाथी झैँ प्राकृतिक रूपमा सजिएको पहाडको टुप्पोमा देवीको उत्पत्ति भएपछि पाथीभरा नाम राखिएको किंवदन्ती पढ्न पाइन्छ ।  

भद्रकाली 

काठमाडौँको सिंहदरबारको ठिक सामुन्ने रहेको भद्रकाली मन्दिर राजा गुण कामदेवले बनाएको बताइन्छ । अग्लो थुम्कोमा मन्दिर छ र देवीको मूर्ति अलिकति होचो ठाउँमा छ । मन्दिर प्राङ्गणअगाडि बेतालको सुतेको मूर्तिको दर्शन गरेर मात्र देवीको दर्शन गर्न मिल्ने विश्वास गरिन्छ । 

शोभा भगवती 

काठमाडौँको विष्णुमती नदीको किनारमा शोभा भगवतीको मन्दिर छ । दुःखबाट मुक्ति पाउन, युद्धमा विजय प्राप्त गर्न, मनको कामना पूरा गर्न, शत्रु नास गर्न, पदोन्नति र साहसिक काम सम्पन्न होस् भनी कामना गर्नेको भिड शोभा भगवती मन्दिरमा लाग्ने गरेको छ । 

गुह्येश्वरी

काठमाडौँ उपत्यकाको प्रसिद्ध गुह्येश्वरी मन्दिर बागमती नदीको किनारमा छ । यहाँ सतीदेवीको गुह्य (मल त्याग्ने अङ्ग) पतन भएको विश्वास गरिन्छ । मूर्ति नभए पनि चाँदीको कलशले ढाकिएको मन्दिरको कुण्डलाई देवीका रूपमा पूजा गरिन्छ । 

वागेश्वरी 

नेपालगन्जको वागेश्वरी मन्दिर पश्चिम नेपालकै प्रमुख शक्तिपीठ हो । यहाँ दसैँमा ठुलो मेला लाग्दछ । सतीदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको जनविश्वास रहेको छ । वागेश्वरी मन्दिर प्यागोडा शैलीमा निर्माण भएको छ । 

विन्ध्यवासिनी  

विन्ध्यवासिनी पोखराको चर्चित मन्दिर हो । मूल देवी विन्ध्यवासिनीलाई भगवती कालीको अवतारका रूपमा पूजा आराधना गरिन्छ । पर्यटकीय सहरमा रहेकाले यो मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकसमेत पुग्ने गर्दछन् । यस मन्दिरमा दसैँको नवरात्रमा विशेष पूजा हुन्छ । 

 भुटनदेवी 

हेटौँडाको भुटनदेवी नेपालकै प्रख्यात देवी मन्दिर हो । भुटनदेवीको स्थापना सेनवंशी राजाले गरेको मानिन्छ । शनिबार र मङ्गलबार बलिसहितको पूजा हुने यस मन्दिरमा विजयादशमीमा देवीको विशेष पूजा हुन्छ । 

मनकामना 

मनकामना मन्दिर गोरखामा पर्छ । दसैँका साथै अन्य दिनमा पनि पूजा गर्न आउनेको यहाँ ठुलो भिड लाग्छ । हरेक दसैँको अष्टमीमा बलिसमेत चढाउने गरिन्छ । मनकामना मन्दिर परिसरमा १५ वटाभन्दा बढी देवीदेवताका मन्दिर छन् ।

 दक्षिणकाली 

काठमाडौँमा रहेको दक्षिणकाली मन्दिर राजा प्रताप मल्लले निर्माण गरेका हुन् । दुई नदीको दोभानमा रहेको दक्षिणाकालीमा दसैँको नवरात्रमा बलि चढ्छ । किंवदन्ती अनुसार दक्ष प्रजापतिका ३३ कोटी कन्यामध्ये दक्षिणकाली एक हुन् ।  

तलेजु भवानी

काठमाडौँको वसन्तपुर दरबार परिसरमा रहेको तलेजु भवानीको मन्दिर दसैँमा मात्र खुला हुन्छ । तलेजु भवानीलाई अलौकिक र अदृश्य शक्तिका रूपमा पुजिन्छ । यसको उत्पत्ति सत्ययुगमा भएको र कालिगडले आकृति कुँदेपछि राजाले मन्दिरमा राखेको विश्वास छ ।  

कालिञ्चोक भगवती 

दोलखामा अवस्थित कालिञ्चोक भगवतीको मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणले चर्चित छ । मनले चिताएको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गर्दछन् । तीन हजार ८४२ मिटर उचाइमा रहेको मन्दिरमा जान अचेल केबुलकारको पनि सुविधा छ । 

बडीमालिका 

बाजुराको बडीमालिका सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्येकै महत्वपूर्ण देवी मन्दिर मानिन्छ । यहाँ जनैपूर्णिमामा  विशेष मेला लाग्ने गर्दछ । समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका पुग्न बाजुराको मार्तडीबाट तीन दिन पैदल हिँड्नु पर्छ । 

सुपा देउराली 

अर्घाखाँचीमा रहेको सुपा देउराली प्रसिद्ध मन्दिर हो । सुपा देउराली मन्दिर १७ औँ शताब्दीदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । दसैँसँगै अन्य मौसम अनुकूल भएको समयमा भक्तजन र पर्यटकको भिड लाग्ने गर्दछ । 

उग्रतारा 

डडेलधुरामा रहेको उग्रतारा मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । अन्य समयसँगै दसैँको अष्टमीमा समेत यहाँ पूजाआजासँगै बलिसमेत दिने चलन रहेको छ । सुदूरपश्चिमको प्रख्यातमध्येकै एक मन्दिर पर्दछ ।

 अम्विकेश्वरी 

दाङको अम्विकेश्वरी मन्दिर घोराही नगरपालिकामा रहेको छ । सतीदेवीको दाहिने कान पतन भएर देवीको मन्दिर बनेको विश्वास गरिन्छ । शुद्ध मनले पूजा गरे इच्छा पूरा हुने जनविश्वास छ । यो मन्दिरमा वर्षमा दुई पटक विशेष पूजा हुन्छ ।  

जल्पादेवी  

धनकुटाको जल्पादेवी मन्दिर पानीमा उत्पत्ति भएकी देवी हुन् । छिन्ताङमा भएकाले यसलाई  छिन्ताङदेवी नामले समेत चिनिन्छ । जल्पादेवीमा बलिसमेत दिने परम्परा छ । यहाँ औँसी र आइतबारबाहेक हरेक दिन पूजा हुन्छ । 

मुना