म्याग्दी, मङ्सिर ४ गते । दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रङ र गजुरमा सुनको जलप लगाउनुभएको हो ।
गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाउनुभएको हो । कोषका उपाध्यक्षसमेत रहनुभएका उहाँले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोप्नुभएको थियो ।
जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिनुभयो । गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । यसअघि विसं २०७७ मा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गर्नुभएको थियो ।
रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआज हुन्छ ।
यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार यस मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोगबाट सङ्कलित रकम पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिँदै आइएको छ ।
यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पीकर’ जडान गर्ने तयारी भइरहेको छ । रासस