• २० असोज २०८१, आइतबार

गैरआवासीय नेपाली सङ्घद्वारा १२० परिवारलाई राहत प्रदान

blog

राहत वितरणका लागि तयार गरिएको राहत सामग्री । तस्बिर : एनआरएनए

काठमाडौँ, असोज २० गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा सङ्घको टोलीले सो राहत वितरण गरेको जानकारी सङ्घले दिएको छ । 

बाढी, डुबान तथा पहिरोका कारण प्रभावितलाई सङ्घको तर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किटलगायतका सामग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात् दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको हो ।


यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । 

जसअनुसार आज पहिलो चरणमा दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा राहत वितरण गरिएको हो । यस्तै सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । 

सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सङ्घले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ । सिस्नेरीमा सम्पन्न राहत पूर्वमन्त्री डिना उपाध्याय, एमाले सांसद महेश बर्तौलालगायतले राहत वितरण गर्नुभएको थियो ।