• १९ असोज २०८१, शनिबार

सहकारीमार्फत खसीबोका बिक्री गर्दा किसानलाई अनुदान

blog

सरुमारानी गाउँपालिका–३ स्थित हंसपुरमा खसीबोका बिक्रीका लागि तौल लिँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, असोज १९ गते ।
 सरुमारानी गाउँपालिकाले किसानलाई खसिबोका बिक्री गर्दा अनुदान दिने गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेका दुई वटा सहकारीमार्फत खसीबोका बिक्री गर्ने किसानलाई प्रति केजी २५ रुपियाँ अनुदान दिने गरेको हो ।

सक्रिय सामाजिक उद्यमी महिला सहकारी र शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारीबाट खसिबोका बिक्री गर्ने किसानलाई पालिकाले अनुदान दिने गरेको हो । यस आर्थिक वर्षका लागि खसिबोकाको दररेट समेत बनाइएको छ । जसले गर्दा किसानले ठगिनु पर्ने र उचित मूल्य पाउने गरेका छन् ।

अहिले दसैँको सिजनमा खसिबोका खरिद बिक्री बढेको छ । सरुमारानी गाउँपालिका–३ की निमा कुमारी रखालले विगत छ वर्षदेखि गाउँकै शान्तिकुञ्ज सहकारीमार्फत खसीबोका बेच्दै आउनुभएको छ । “३०/४० वटा बाख्रा पाल्दै आएको छु,” उहाँले भन्नुभयो, “बर्सेनि १०/१५ वटा सहकारीमार्फत बिक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको उचित मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ । “तौल नगरी बेच्दा घाटा पनि हुन सक्छ,” उहाँले भन्नुभयो, “आफ्नै आँखा अगाडि जोखेर बेच्न पाइन्छ, सजिलो हुन्छ ।”

सहकारीले सात वर्षदेखि खसिबोका खरिद बिक्री गर्दै आएको छ । सहकारीका व्यवस्थापक टेम्पल सारुले यो वर्ष एक सय एक वटा खसिबोका सहकारीमार्फत बिक्री भइसकेको जानकारी दिनुभयो । १५ लाख २८ हजार ८५० रुपियाँ बराबरको कारोबार भइसकेको उहाँको भनाइ छ । त्यसैगरी, सक्रिय सामाजिक उद्यमी महिला सहकारीले ७२ वटा खसिबोका बिक्री गरी १२ लाख चार हजार ८३० रुपियाँ बराबरको कारोबार गरेको छ ।

स्थानीय सरकार, सहकारी र व्यापारीको संयुक्त बैठकबाट खसीबोकाको मूल्य निर्धारण गर्ने गर्दछन् । यो वर्ष निर्धारण गरेको मूल्य अनुसार जिउँदो खसीबोका ३० केजीसम्म प्रति केजी ४७० रुपियाँ, खसी ३१ देखि ४० केजीसम्म ५१०, ४१ केजीभन्दा माथि ५४० रुपियाँ र बोका ३१ केजीभन्दा माथि पाँच सय रुपियाँ प्रति केजी मूल्य तोकिएको छ ।