• ७ मंसिर २०८१, शुक्रबार

पितृलाई बाटो बनाउने माझी

blog

माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये पर्दछ । माछा मार्ने, डुङ्गा खियाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरेका माझी समुदायका आफ्नै खालका विशिष्ट रीतिरिवाज छन् । जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा माझीहरूको आफ्नो विशिष्ट पहिचान रहेको छ ।  

माझी जाति आफ्नो छुट्टै भाषा, धर्म, संस्कार, संस्कृति र परम्परा भएको समुदाय हो । मूलतः सप्तकोशीका सहायक नदीको छेउछाउ तथा मध्य र पूर्वी क्षेत्रका भित्रीमधेश, मधेशमा बसोबास गर्ने माझी जाति अति सीमान्तकृत समूहमा पर्दछ । 

माझी जातिका धेरै चाडपर्व छन्, रीतिरिवाज छन् । मृत्यु संस्कारसँग जोडिएको पितृ कार्यलाई उनीहरूले धुमधामसँग मनाउँछन् । यो कार्यमा मृत्यु भएको व्यक्तिका आफन्तलाई घरमा बोलाउने, घरसम्म ल्याउन बाटो सफा गरिदिने, मिष्ठान भोजन खुवाउने र पुनः उनकै ठाउँमा फिर्ता पु¥याउने चलन छ । यो समग्र प्रक्रिया नै माझी समुदायको पितृ बोलाउने कार्य मानिएको छ । यो कर्म ठाउँ अनुसार सात दिन र धेरै केही ठाउँमा भने तीन दिनमा सम्पन्न गरिन्छ । 

झट्ट हेर्दा नेवार समुदायले मनाउने गाईजात्रासँग मिल्दो जस्तो देखिए पनि माझी समुदायको पितृ बोलाउने परम्परा भिन्न रहेको छ ।  यसले माझी समुदायलाई एकतामा बाँध्ने र मृत्यु भएका आफन्तलाई सम्मान गर्ने परम्पराका रूपमा अघि बढेको छ । 

ठाउँ अनुसार सोह्रश्राद्ध र दशैँमा हुने पितृ कार्यले माझी समुदायमा  असोज महिना नै श्रद्धाले भरिएको महिनाका रूपमा लिइन्छ । बर्सातपछि बाढी, खोला कञ्चन र सफा हुँदा मन नै आनन्दित भएसँगै पितृ कार्यले समुदायलाई नै एक ढिक्का बनाउने गरेको छ ।  परिवारमा कुनै सदस्यको मृत्यु भएपछि चोखो बस्ने, १० दिनसम्म लगातार खोलामा पिण्ड दिएर खोलामै खाना खाएर माझीहरू आउने गर्छन् । नौ दिनमा गाउँका सबैले एक माना चामल लिएर आउने गरेका हुन्छन् । यसलाई मुख्य बिचार भन्ने गरिन्छ । बिचार ल्याउनेलाई जाँड खुवाउनु पर्छ । मानिसको मृत्यु भएको १० दिनमा मलामी, दाजुभाइ, छोरीचेली, गाउँलेले खोलामा गएर नुहाउँछन् । केराको पातमा हालेर दूध, पानी र जाँड चढाउने चलन छ । 

मृत्यु भएको ४५ दिन र छ महिनामा विशेष कार्य गर्छन् । १० दिनमा हुने सुध्याइपछि बर्खान्त नगरुञ्जेलसम्म पितृलाई नचढाई आफूले नखाने परम्परा छ । 

सोह्रश्राद्धको पूर्णिमापछिको बुधबार सुरु गरेर शुक्रबार समापन हुने र फूलपातीमा सुरु गरेर टीकाको पर्सिपल्ट पितृ कार्य गर्ने पनि छन् । नेपाल माझी उत्थान सङ्घका अध्यक्ष चिनीमाया माझीका अनुसार माझी समुदायले सामूहिक खेती गर्ने, एकै ठाउँमा झुप्प भएर बस्न रमाउने जाति हो । 

माझीले दशैँको जमरे औँशीका दिन ढेके, भोटे, बाहुन, बाहुनीलाई निम्तो दिएर पितृ कार्यका लागि अनुरोध गर्छन् । माझी समुदायबाट नै ढेके, भोटे र बाहुन, बाहुनी बनाइन्छ । पितृ कार्य अवधिभर चोखो खाने, अरूलाई छुन नहुने र पितृ कार्यको सबै बन्दोबस्ती गर्नुपर्ने भएकाले ढेके, भोटे, बाहुन, बाहुनीबाट स्वीकृत भएपछि मात्रै पितृ कार्य सुरु गर्छन् । उनीहरूले एक वर्षमा एक घरको मात्रै पितृ कार्य गर्ने भएकाले उनीहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । 

दशैँको फूलपातीदेखि पितृ कार्य गर्नुपर्ने भएकाले माझीहरूले आवश्यक पर्ने दाउरा, पात ल्याउँछन् । दाउरा ल्याउँदा सल्लाको र पात सालको ल्याउनु पर्छ तर दुवै वस्तु ल्याउँदा रुखको फेदमा बाबरी, जाँड, अक्षताले पूजा गरेर ‘हामीले फलानो पितृ कार्यका लागि लिन आएको’ भनेर पूजा गर्नु पर्छ । यो कार्यलाई माझी समुदायमा सोकेर्ने भनिन्छ । 

फूलपातीका दिन बेलुका ढेके (विशेष मन्तर जान्ने र ढोल बजाउने), भोटेले पितृसम्बन्धी गीत बजाएर नाचगान गर्छन् । त्यसलाई पितृ भुलाउने भन्ने गरिन्छ । भोटेले पितृ बोलाउने क्रममा गाउँको सामुदायिक ठाउँमा लगेर पितृ नाच्ने गरिन्छ । हातमा लौरो बोकेर उनीहरू मृतक आफन्तको सम्झनामा नाच्ने गर्छन् ।  

पितृको नाममा घोडा, तरबार, लिस्नो, लिङ्गो आवश्यक पर्ने भएकाले सातदेखि आठ जना केटालाई सगुन खुवाएर माझीहरूले जङ्गल पठाउँछन् । केटाहरूले लाठी, काठ, बाबियोको घोडा, अमलाको बोटको तरबार, चार वटा सालको लिङ्गो, एउटा सानो सालको लिस्नो, एक मुठा खरसमेत लिएर आउँछन् । ती सामान ल्याएर खोलाको बगरमा नचाउँछन् । आफन्तको मृत्यु भएकाले यसो गरेर पीडा भुलाउने गर्छन् ।  

शिकार खेल्नका लागि ढेके, भोटेले निमतेलको एउटा हाँगा आँगनमा गाडेर तिरले हान्छन् । एउटा केटाले खुकुरीले हानेर निमतेलको हाँगा काटेर भाग्छ । अर्को फर्सी नचाउँदै हिँड्छ । मृतक पुरुष भएमा भाले र महिला भएमा पोथी कुखुरा आवश्यक पर्छ । भोटेले शिकार खेल्दै जाँदा कुखुरा मारेर घर नघाइदिन्छ र सोही कुखुराको मासु पकाएर सबैले खान्छन् । 

नाङ्लोमा जाँड, मासु, फलफूल राखेर नचाउने गरिन्छ । दुई कन्या केटीलाई बाहुनी केटी बनाइन्छ । पितृ नचाउने एउटा सामूहिक ठाउँ हुन्छ । त्यहाँ गाउँभरिका सामूहिक पितृ नाच ल्याउने गरिन्छ । 

त्यहाँ अनेकौँ नाच गरिन्छ । नाच्ने भोटे र खसियाको लडाइँ भएको अभिनय पनि गरिन्छ । सो क्रममा भोटेलाई मारेको अभिनय गर्छन् ।  उनलाई केरा र चिउरा खुवाउने प्रचलन छ । नचाउने कार्य सकिएपछि सबै जना आफ्नो घरमा जान्छन् । अनि घरमा चार वटा लिङ्गो गाडेर घर जस्तो बनाउँछन् । त्यसमा लिस्नो उल्टो पारेर राख्छन् । लिङ्गो गाडेर बनाइएको घरलाई झिँगटी भनिन्छ ।

झिँगटीमा एउटा चल्ला राखिन्छ र पितृसम्बन्धी गीत गाएर माझीहरू घुम्छन् । युवकयुवती आफ्ना जोडीसँग दोहोरी गाउँछन् । छोरीचेलीले पितृको नाममा चामलको ढिकी जाँतो पनि गर्छन् । पितृ बगाउनका लागि भोर्लाको पातबाट खालो (टपरी) गाँस्छन् । खालो गाँस्नेलाई सगुनका रूपमा जाँड, रक्सी, मासु, केरा, चिउरा सम्मानका साथ खुवाउनु पर्ने चलन रहेको छ । 

पितृ बगाउने दिनको बिहान खालोमा पितृको नाउँमा काटेको पशुको  सिङ, खुर, नङ्ग्रा हालेर जहाँबाट बोलाएर ल्याएको हो त्यहाँ ढोल, घण्टी बजाउँदै सुई सुई पार्दै लाने गरिन्छ । घरमा पस्नेले लुक्ने ठाउँमा लिपपोत गर्छन् । भोटेले पितृ बोलाउँदा बनाएका घर चुलोचम्का भत्काउँदै जान्छन् । ढोल एकोहोरो बजाएर बगाउन जाने गरिन्छ । 

नेपालका ६३ जिल्लामा माझी समुदायको बसोबास रहेको छ । २०७८ सालको जनगणना अनुसार माझीको जनसङ्ख्या एक लाख ११ हजार रहेको छ । 

एक वर्षमा दिवङ्गत भएका पितृको सम्झनामा माझी समुदायले सो कर्म गर्छन् । आफन्तको मृत्यु भएका परिवारका सदस्यले कुशे औँशीदेखि श्राद्ध गर्न चोखो खाएर बस्नु पर्दछ । सोह्रश्राद्धको पूर्णिमाको दिनबाट श्राद्ध प्रारम्भ हुन्छ । सो दिनबाट एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ, पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइ आउँछन् । उनीहरू सबैलाई प्रसादी खुवाएर बिदा गरिन्छ । गाउँका मानिसले ल्याएको प्रसादी र सगुन बाँडिन्छ । साथै भोज लगाएर सबै पाहुनालाई खाना खुवाई बिदा गरिन्छ । 

दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनी बाटो खनिने गरिएको छ । पितृलाई बाटो बनाउने कार्यले गर्दा माझी समुदायले आफ्नो गाउँटोलको बाटो पनि सफा बनाउँछन् । यसले चाडपर्व आगमन भएको आभास हुन्छ । 

खोलासमेत सफा गरिन्छ । त्यसपछि खुला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ । त्यसलाई नै पितृ नाच भन्ने गरिएको छ । पछिल्लो समय पितृ नाच्ने ठाउँमा विकास निर्माणका लागि पोखरी, भवन, शौचालय बन्न थालेपछि माझी समुदाय समस्यामा परेको बताउन थालेका छन् ।  

पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका रहने माझी उत्थान सङ्घको केन्द्रीय अध्यक्ष चिनीमाया माझीको भनाइ छ । 

सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ । भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरिन्छ र गाउँलेहरू जम्मा भएर भोज गरेपछि श्राद्ध सकिन्छ ।

परिवारको सदस्य मृत्यु भएपछि गरिने १० दिनको कर्म भने माझी समुदायको हिन्दु धर्मावलम्बीसँग मिल्दोजुल्दो छ । सामान्य अवस्थामा १० दिनसम्म छोराले कसैलाई नछोई एक भक्ति बस्ने र १० दिनपछि चोखिने परम्परा छ ।  

–युवामञ्च