• ७ पुस २०८१, आइतबार

चिनियाँ साहित्य नियाल्ने कृति

blog

नेपाल–चीन मैत्री सम्बन्ध निकै पुरानो हो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका हिमाली क्षेत्रको सभ्यता, संस्कृति, जनजीवन र व्यापारको लामो शृङ्खला छ । यस्ता सम्बन्ध राज्यस्तरमा मात्र होइन, नागरिक र सामाजिकस्तरमा समेत रहेको छ । तथापि चीनको साहित्य सन्दर्भमा नेपाली समाज धेरै अर्थमा अनभिज्ञ छ । यस अर्थमा चिनियाँ साहित्यको समकालीन अवस्था, प्रवृत्ति र प्रयास बुझ्न सहयोग पुग्ने ‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ कृति प्रकाशनमा आएको छ ।

चिनियाँ लेखक रेन्मङले सम्पादन गर्नुभएको ‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ चिनियाँ भाषाबाट डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गर्नुभएको हो । यसमा समकालीन चिनियाँ साहित्यसम्बन्धी समालोचनात्मक र अनुसन्धानात्मक १४ वटा लेख समेटिएको छ । यी लेखले चीनमा सुधार तथा खुला नीति लागु गरिएपछिका ४० वर्षको समयावधिको साहित्यलाई समेटेको छ; जुन युगलाई चिनियाँहरू नयाँ युगका रूपमा समेत परिभाषित गर्छन् । 

चिनियाँ अर्थतन्त्रमा लिइएको खुला नीतिले चिनियाँ समाज, जीवनशैली, आर्थिक विकाससँगै चिन्तन प्रवृत्ति र त्यसले साहित्यमा पारेको प्रभावसँगै परिवर्तन ल्यायो । कृतिका लेखकले भनेका छन्, “चीनको निरन्तर आर्थिक उन्नति हुँदै गएको हुँदा सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आयो । यसका साथै बाहिरी विश्वतिर खुला हुँदै गएको सामाजिक वातावरणले मानिसको सांस्कृतिक दृष्टि क्षेत्रलाई फराकिलो बनाउँदै कलासाहित्य क्षेत्रको वैचारिक स्वतन्त्रतालाई बढाई कलासाहित्यको समृद्धिलाई प्रोत्साहित गर्‍यो ।”

ख्यातिप्राप्त चिकित्सक सर्वोत्तमले योसहित चिनियाँ भाषाका पाँच वटा कृतिको नेपालीमा अनुवाद गर्नुभएको छ । चिनियाँ साहित्यको नेपाली अनुवाद न्यून रहेको अवस्थामा चिनियाँ भाषामा समेत गहिरो ज्ञान राख्नुहुने चिकित्सक सर्वोत्तमको यो कार्यलाई धन्यवाद भन्नै पर्छ । डा. सर्वोत्तमले चिनियाँ साहित्यकार छाओ चियान्स्थ्वीन्को ‘मन जब चराको गुँडबाट निस्केर उड्छ’ पहिलो अनुवाद गर्नुभएको थियो । कृतिका उपन्यास–स्वदेशमा आधारित हुँदै शास्त्रीय परम्परातर्फ बढ्दै (थ्वी खः स्थ्वीन्), गैरआख्यानबारे पुनर्विचार (छाइ चियाथ्वीयान्), ग्रामीण चीनको स्वच्छन्दतावादी अभिव्यक्ति–नयाँ युगमा ग्रामीण विषयवस्तुका स्वच्छन्दतावादी आख्यान साहित्यको विकास (याङ् पीन्), चलायमान वक्ररेखा–बिसौँ शताब्दी नब्बेको दशकका उपन्यासहरूमा मानसिक तथा कलात्मक अन्वेषणबिचको असन्तुलित अवस्थाबारे (छेन् मेइलान्), समकालीन साहित्यमा उच्छृङ्खलता र उग्रताको वर्णन (फान् सीङ्), बजारमुखी अर्थव्यवस्थाको युगमा व्यक्तिगत अभिव्यक्ति–बिसौँ शताब्दीको अन्तिम कालको चिनियाँ साहित्यको आधुनिक चिरफार (सेन् च्याताः), प्रशासनिक विषयवस्तुका आख्यान साहित्य (सेन् च्याताः), सन् १९४९ देखि यता चिनियाँ नयाँ कविताको विकास (रेन्मङ्), चिनियाँ नयाँ कविताको विकासबारे चिन्तन (हुवाङ् कोइथ्वीयान्), समकालीन काव्यबाट के कुरा लोप भएको छ ? (वाङ् सीन्मीन्), निबन्धको विलक्षण युग (वाङ् पीड्), विशालता र अनन्ततर्फ बढ्दै–चीनमा सुधार तथा खुला नीतिका ४० वर्षका निबन्धहरूको अध्ययन (छेन् चियान्होइ), इन्टरनेट युगमा चिनियाँ निबन्धको विकासका दिशाहरू (रेन्मङ्) र चिनियाँ अनलाइन साहित्यको २० वर्ष (छेन् तिङ्चिया) शीर्षकले नै चिनियाँ समकालीन साहित्यको रेखाङ्कन गर्छ ।

चीनमा आख्यान परम्परा दुई हजार वर्षभन्दा लामो छ । यस क्रममा चिनियाँ साहित्यले विकासका धेरै शैलीलाई पछ्याउँदै अघि बढेको पाइन्छ । आख्यान परम्परा र शैलीका विविधि पक्षलाई चिनियाँ साहित्यले प्रयोग गरिसकेको पाइन्छ । विशेष गरी उपन्यासमा चिनियाँ विविध पक्ष कृषि, ज्योतिषशास्त्र, चालचलन, जनजीवन, कृषिशास्त्र, ऐतिहासिक तथ्य, परिकल्पना, काल्पनिक विषयवस्तुलाई काफी प्रयोग गरिएको पाइन्छ । विषय उठानका हिसाबले, विषयवस्तुको प्रस्तुतिका हिसाबले र शैलीका हिसाबले समेत चिनियाँ उपन्यास उन्नतम तहमा पुगेको विश्लेषण थ्वी खः स्थ्वीन्को ‘उपन्यास–स्वदेशमा आधारित हुँदै शास्त्रीय परम्परातर्फ बढ्दै’ लेखमा गरिएको छ । पश्चिमाहरूले चिनियाँ समाजलाई अभिव्यक्ति स्वतन्त्रताको प्रश्नले सधैँ हेरेको पाइन्छ । तथापि, थ्वी खः स्थ्वीन्को लेखले त्यसो भन्दैन । चिनियाँ साहित्यकारद्वारा खास गरी उपन्यासमा स्वतन्त्र अभिव्यक्तिलाई लेखनको उद्देश्य बनाउने प्रशस्त प्रयास भएको छ । थ्वी खः स्थ्वीन्ले लेख्नुभएको छ, “२० औँ शताब्दीको नब्बेको दशक यतादेखि आफ्नो व्यक्तिगत लेखनप्रतिको पुनर्विचारका कारणले होस्, सबै जसो उपन्यासकारले स्वतन्त्र अभिव्यक्ति अथवा अभिव्यक्तिको स्वतन्त्रताबारे छलफल गरेका छन् ।” 

चीनमा फैलँदो गैरआख्यान लेखनका सन्दर्भमा समेत पुस्तकमा छाइ चियाथ्वीयान्ले चर्चा गर्नुभएको छ । चीनमा गैरआख्यान लेखनको परम्परा धेरै लामो भए पनि साहित्यिक लहरका रूपमा सन् २०१० पछि मात्र चिनियाँ विद्वत् वर्गको ध्यान तानेको पाइन्छ । जनसाहित्य पत्रिकाले गैरआख्यान स्तम्भ सुरु गरेर गैरआख्यान लेखनमा सहभागी हुन लेखकहरूलाई अनुरोध गरेपछि परम्परागत साहित्यिक घेरा अझ फराकिलो रूपमा अघि बढेको चर्चा यस लेखमा गरिएको छ । 

गैरआख्यानको कुनै निश्चित लेखन ढाँचा हुँदैन । लेखनमा खुलापन यसको विशेषता र त्यही नै ढाँचा हो । यसमा लेखकको आफ्नैपन झल्कन्छ । कथा, उपन्यास, निबन्ध, काव्य, रिपोर्ताज, नाटक, सिनेमा जस्ता विधाका अभिव्यक्ति शैली र संरचनात्मक विशेषताको सम्मिश्रण नै गैरआख्यान लेखनमा देखिनु यसको विशेषता बनेको निष्कर्ष लेखकले गर्नुभएको छ । 

चिनियाँ साहित्यमा भित्रिएको स्वच्छन्दतावादी अभिव्यक्तिलाई याङ् पीन्ले विस्तृत चर्चा गर्नुभएको छ । नयाँ युगका ग्रामीण विषयवस्तुका स्वच्छन्दतावादी आख्यानले यथार्गवादको एकल प्रभुत्वलाई तोडिएको निचोड उहाँको छ । लेखकले साहित्यमाथि राजनीतिको अति नियन्त्रणको विरोध गरी साहित्यलाई साँच्चिकै साहित्य बनाउने प्रयत्न यसखाले स्वच्छन्दतावादी लेखन अभिव्यक्तिले गरेको स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ । 

लेखिका छेन् मेइलान्ले नब्बेको दशकका उपन्यासहरूमा मानसिक तथा कलात्मक अन्वेषणबिचको असन्तुलित अवस्थाबारे विस्तृत चर्चा गर्नुभएको छ । फान् सीङ्को समकालीन साहित्यमा उच्छृङ्खलता र उग्रता विषयमा चिरफार गर्नुभएको छ । 

लेखक सेन् च्याताःले बजारमुखी अर्थव्यवस्थाको युगमा व्यक्तिगत अभिव्यक्तिलाई लेखको मूल विषय बनाएर २० औँ शताब्दीको अन्तिम कालको चिनियाँ साहित्यको आधुनिक चिरफार गर्नुभएको छ । उहाँले २० औँ शताब्दीको ८० को दशकको अन्त्य र पूरै ९० को दशकमा चिनियाँ साहित्यको पतन दुई पक्षमा देखिएको स्पष्ट पार्नुभएको छ । पहिलो– साहित्यको पतन अर्थात् साहित्यको समाजमा हलचल ल्याउन सक्ने शक्तिको विलयन, साहित्यले समाजमा जिम्मेवारी लिएर केही गर्न सक्ने आवश्यकता र सम्भावना नै नहुनु । दोस्रो– साहित्यकारको पतन, साहित्यकारको स्थान केन्द्रबाट सरेर परिधिमा पुग्न जानु ।

कुनै भावनात्मक जोसलाई आधार बनाई, कुनै विशेष चरित्र सिर्जना गर्नुलाई आफ्नो कर्तव्य सम्झी, जनतालाई शिक्षित र सुसंस्कृत बनाउनुलाई अन्तिम ध्येय बनाउने साहित्यका सामाजिक भूमिकालाई बजारमुखी अर्थव्यवस्थाले सिर्जना गरेको परिस्थितिमा ‘निजात्मकता’, ‘अभिलेखात्मकता’ आदिले विस्थापित गरेको निष्कर्ष उहाँको छ । 

सेन् च्याताःको प्रशासनिक विषयवस्तुका आख्यान साहित्य शीर्षक लेखमा चिनियाँ सांस्कृतिक क्रान्तिको एक दशकमा चिनियाँ समाजले बेहोर्नु परेको अन्याय र अत्याचार अनि त्यसविरुद्ध जनताले सडकमा देखाएको शासकको प्रशंसा गरिएको छ । २० औँ शताब्दीको अन्त्यतिर चिनियाँ वर्तमान साहित्यको एक अंशका रूपमा प्रशासनिक विषयवस्तुका आख्यानले अभूतपूर्व जीवनशक्ति प्रदर्शन गरेको निष्कर्ष उहाँको छ । त्यो आधुनिक कालमा तात्कालिक सरकारको आलोचना गरी लेखिएका उपन्यास ली पोःथ्वीयान्को प्रशासनिक क्षेत्रको यथार्थ, चङ् फुको पापको सागरमा फुलेको फूल जस्ता उपन्यासको चर्चा लेखकले गर्नुभएको छ । 

सन् १९४९ देखि यता चिनियाँ नयाँ कविताको विकासलाई रेन्मङले निर्भीक तरिकाले विश्लेषण गर्नुभएको छ । सो लेखमा गणतन्त्रको प्रारम्भः काव्यरचना धेरै उत्पादन भएको समयका रूपमा चित्रित गरिएको छ । नयाँ लोकगीत आन्दोलनले सांस्कृतिक निर्माणमा एउटा गल्ती गरेको तथ्यलाई समेत लेखमा प्रस्तुत गरिएको छ । गाउँ गाउँमा लोककवि हुनु पर्छ, ठाउँ ठाउँमा लोकगायक हुनु पर्छ भन्ने नाराले आन्होइ प्रान्तको कुनै काउन्टीको एक ग्रामका २६७ वटा उत्पादन टोलीले २६७ वटै साहित्य रचना समूह बनाएको चर्चा गरिएको छ । यसले लोकगीतको सङ्ख्या बढाए पनि धेरै जसोमा साँच्चिकै कलाकारिता नभएको निष्कर्ष लेखमा गरिएको छ । 

लेखकले थियान्आन्मेन् स्क्वाएरका कविताहरू : नयाँ युगको काव्यको भव्य सुरुआत भन्नुभएको छ । चिनियाँ १० बर्से सांस्कृतिक क्रान्तिको अन्त्य हुने बेलातिर लामो अवधिको दमन जनताले सहन नसक्ने हदसम्म पुगेको र त्यसको विस्फोट सन् १९७६ को छिङ्मिङ चाडको दिन थियान्आन्मेन् स्क्वाएरमा भएको चर्चा लेखमा गरिएको छ । त्यो बेला तीन महिनाअघि निधन भएका प्रधानमन्त्री चउ एन्लाइलाई श्रद्धाञ्जली दिन, एक जमात अत्याचारीलाई चेतावी दिन काव्यलाई सम्झिएको थियो । त्यस बेला लाखौँको सङ्ख्यामा उपस्थितले हात हातमा बेनामे कविता लिएका थिए । कविता पाठ गरेका  थिए । कविता सारेका थिए । खासमा त्यो दिन थियान्आन्मेन् स्क्वाएर कविताको संसार बनेको थियो । यस परिघटनालाई लेखकले नयाँ युगको काव्य सिर्जनाको पहिलो चरमोत्कर्षको आगमनका रूपमा व्याख्या गर्नुभएको छ । 

चिनियाँ समाज र साहित्य बुझ्न अंग्रेजी माध्यममा भर पर्नुपर्ने हुन्छ । त्यसमाथि पश्चिमा साहित्यको ऐनामा चिनियाँ समाज र साहित्य खोजेर त्यसको वास्तविक स्वाद पाउन मुस्किल छ । चिनियाँ भाषामा बहुसङ्ख्यक नेपालीको पहुँच छैन । यस हिसाबले चिनियाँ साहित्य र त्यसमा देखा परेका विकासक्रम र विचारलाई यस कृतिले मिहिन ढङ्गले चर्चा गरेको छ । 

कृतिमा सङ्गृहीत लेखका लेखकको परिचयसमेत पुस्तकमा समावेश गरिएकाले नेपाली पाठकलाई चिनियाँ लेखकसम्बन्धी जान्न बुझ्नसमेत महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ । कृतिको परिशिष्टमा समालोचनामा उल्लेख भएका आधुनिक चिनियाँ कवि, लेखक, समालोचकको सङ्क्षिप्त परिचय दिइएको छ । त्यसमा प्राचीन चिनियाँ कवि, साहित्यकार, दार्शनिकहरूको परिचयले कृतिलाई गहकिलो बनाएको छ । नागार्जुन पब्लिकेसन प्रालिले प्रकाशन गरेको यस पुस्तकले चिनियाँ साहित्यको वर्तमान अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुग्ने छ ।