आजकल हामीले सोचेको र खोजेको विषयसँग ठ्याक्कै मिल्ने सामग्री सामाजिक सञ्जालमा कसरी आइरहेका छन् भनेर हामी अचम्ममा पर्छौं । बच्चालाई कस्ता खेलौना किन्ने, कस्ता कपडा किन्ने, घरमा के कस्ता भाँडाकुँडा आवश्यक छ, कस्ता फर्निचर आवश्यक छ, आगामी छुट्टी मनाउन कुन ठाउँमा घुम्न जाने, कति रकम खर्च गर्दा कस्ता होटेल पाइन्छन् भनी श्रीमान्–श्रीमतीबिच भइरहेका नितान्त व्यक्तिगत एवं पारिवारिक छलफलका विषयसँग सम्बन्धित सामग्री नै एकाएक सामाजिक सञ्जालमा देखा पर्दा हामी अचम्म मानिरहेका छौँ ।
यस्तो कसरी सम्भव भयो, हामीले त यसो गर्दै छौँ भनेर अरू कसैलाई भनेका पनि थिएनौँ । हामीलाई कसैले सुने जस्तो पनि लाग्दैन तर हाम्रा गोप्य भनिएका छलफल किन गोप्य हुन सकेनन् ? आखिर हामीलाई कसले पछ्याइरहेको छ ? आदि प्रश्न हाम्रा मनमा उब्जिनु स्वाभाविक हो । यी स्वाभाविक प्रश्नको जवाफ थाहा पाउन हामीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता के हो, यो कहाँ कसरी प्रयोग भइरहेछ, यसले कसरी कार्य गर्छ भनी जान्नु आवश्यक छ ।
के हो कृत्रिम बौद्धिकता ?
कृत्रिम बौद्धिकता यस्तो एउटा अत्याधुनिक प्रविधि हो, जसले कम्प्युटर, मोबाइललगायतका डिजिटल उपकरणलाई मानिसले जस्तै विशिष्ट कार्य गर्न जस्तै– हेर्न, सुन्न, पढ्न, लेख्न, भाषा उल्था गर्न, विभिन्न किसिमका तथ्याङ्क विश्लेषण गर्न र सल्लाह सुझाव दिन सक्षम तुल्याउँछ । अर्को शब्दमा भन्नुपर्दा, झन्डै मानिसको जस्तै बौद्धिकता प्रदर्शन गर्न सक्ने मानव निर्मित आधुनिक प्रविधि नै कृत्रिम बौद्धिकता हो । यो पछिल्लो पुस्ताका कम्प्युटरको प्रमुख विशेषता पनि हो ।
पछिल्लो समयमा कृत्रिम बौद्धिकता डिजिटल प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चासो र महत्व दिइएको विषय हो । यसले एउटा मानिसको व्यक्तिगत जीवनदेखि लिएर विश्व अर्थतन्त्रमै प्रभाव पारिरहेको छ । विभिन्न पेसागत एवं व्यावसायिक क्षेत्रमा यसको प्रयोग बढ्दै गइरहेको छ । यसले प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै छ भन्दा पनि फरक पर्दैन ।
एआई प्रविधि शिक्षा, स्वास्थ्य, यातायात, कृषि, बैङ्किङ, मानव संसाधन, औद्योगिक उत्पादन, बजारीकरण, मनोरञ्जन, तथ्याङ्क सुरक्षा, यन्त्र मानव विकास, खेलकुद, सामाजिक सञ्जाल, प्रतिरक्षा प्रणाली, उड्डयन, अन्तरिक्ष प्रयोगशाला आदि विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न डिजिटल उपकरण र प्रणालीमार्फत यी क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रयोग भइरहेको छ ।
भर्चुअल कक्षाकोठा, अनलाइन परीक्षा, शल्यक्रियामा संलग्न हुने यन्त्रमानव, स्वचालित रूपमा गुड्ने चालकरहित गाडी, पाइलटबिनै उड्ने विमान, पात हेरेर बोटबिरुवाको रोग पत्ता लगाउने मोबाइल एप, स्वचालित रूपमा विभिन्न किसिमका भुक्तानी गर्ने मोबाइल बैङ्किङ एप, मानिसको रुचि अनुसारका विज्ञापन देखाउने सामाजिक सञ्जाल आदि एआई प्रयोगका उदाहरण हुन् ।
हालै सार्वजनिक गरिएको आइफोन १६ को संस्करणमा समेत एआईका विशेषता समावेश गरिएको एपल कम्पनीले जनाएको छ । त्यसै गरी अनलाइन च्याटबट च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपन एआईले ‘तार्किक क्षमतायुक्त’ ओपनएआई ओ१ नामक नयाँ एआई मोडल विकास गरेको जनाएको छ ।
कसरी कार्य गर्छ ?
एआई प्रविधिले विभिन्न चरणमा कार्य गर्छ । हरेक चरण द्रुतगतिमा पार गर्ने भएकाले प्रयोगकर्ताले यसको भेउसमेत पाउँदैनन् । सामान्यतया यो प्रविधिले विभिन्न किसिमका तथ्याङ्क सङ्कलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गर्ने, प्रशोधित तथ्याङ्कबाट आवश्यक तथ्याङ्क छनोट गर्ने, छनोट गरिएका तथ्याङ्कको बिचमा प्याटर्न (ढाँचा) र सम्बन्ध स्थापित गर्ने, स्थापित सम्बन्धको जाँचपड्ताल गर्ने र समस्या समाधान गर्न एल्गोरिदम (कलन विधि) निर्माण गर्ने, आवश्यक तथ्याङ्कको अनुमान गर्ने, तथ्याङ्कको यथोचित विश्लेषणमार्फत आवश्यक निर्णय लिने, निर्णय कार्यान्वयन गर्ने, पूर्व निर्धारित स्तरबमोजिम नतिजा प्राप्त भए नभएको जाँच गर्ने र निरन्तरको पृष्ठपोषणमार्फत आवश्यक सुधार गर्दै चाहे अनुसारको प्रणाली तयार पार्ने कार्य गर्छ ।
टेक्स्ट (अक्षर–अङ्क), तस्बिर, आवाज, दृश्य, अडियो–भिडियो (श्रव्यदृश्य) आदिलाई नै एआई प्रविधिको तथ्याङ्कका रूपमा प्रयोग गरिन्छ । यिनै तथ्याङ्कलाई विभिन्न तवरले प्रशोधन गरी विश्लेषण गर्ने र उपयुक्त नतिजा निकाल्ने कार्य एआईले गर्छ । यी तथ्याङ्कलाई आवश्यकता अनुसार छुट्टाछुट्टै वा संयुक्त आगत (इन्पुट)को रूपमा लिई प्रशोधन गर्ने र निर्गत (आउटपुट) को रूपमा निकाल्ने कार्य एआईले गर्छ ।
एआई प्रविधिमा मानिसमा जस्तै आवाज पहिचान गर्न सक्ने, तस्बिर पहिचान गर्न सक्ने, स्थान पहिचान गर्न सक्ने, दिशा पहिचान गर्न सक्ने, तापक्रम, प्रेसर (चाप) र प्रकाशको मात्रा थाहा पाउन सक्ने, समय र परिस्थिति अनुसार निर्णय लिन सक्ने, विगतका गल्ती कमजोरी तथा अनुभवबाट पाठ सिक्न सक्ने आदि क्षमता तथा विशेषता हुन्छन् । यो प्रविधि प्रायः इन्टरनेट जडित डिजिटल उपकरणमा प्रयोग गरिन्छ, जसले गर्दा कम्प्युटरलगायतका डिजिटल उपकरणको विश्वव्यापी सञ्जालमा रहेका तथ्याङ्कको पहुँचमार्फत कार्य सिद्ध गर्न सहज हुन्छ । व्यावसायिक संस्थाहरूलाई आमसर्वसाधारणका सूचना महत्वपूर्ण हुने र सर्वसाधारणसँग दोहोर्याइ तेहेर्याइ सूचना माग्न नपरोस् भन्ने उद्देश्यका साथ तिनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्ना प्रणालीहरूमा एआईको प्रयोग गर्ने गर्छन् ।
एआईका विभिन्न विधा छन् । यान्त्रिक सिकाइ (मेसिन लर्निङ), गहन सिकाइ (डिप लर्निङ), तन्त्रिका सञ्जाल (न्युरल नेटवर्क), प्राकृतिक भाषा प्रशोधन (न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ–एन्एल्पी), कम्प्युटर दृष्टि (कम्प्युटर भिजन) आदि एआईका प्रमुख विधाहरू हुन् । यान्त्रिक सिकाइ कम्प्युटर विज्ञान, गणित र सङ्केतीकरण (कोडिङ)को संयोजन हो । यसले एल्गोरिदम विकास गरी यन्त्रलाई मानिसको सहायताबिना आवश्यक तथ्याङ्क अनुमान गर्न सक्ने बनाउँछ ।
त्यसै गरी गहन सिकाइमा यन्त्रले सहजै निर्णय लिन मानिसको दिमागले जस्तै सूचनाको संरचना तयार पार्ने र प्रशोधन गर्ने कार्य गर्छ । तन्त्रिका सञ्जालमा यन्त्रले मानिसको दिमागले जस्तै ठुलाठुला र जटिल हिसाबकिताब गर्ने कार्य गर्छ । साथै प्राकृतिक भाषा प्रशोधन (एन्एल्पी) मा कम्प्युटरले मानवीय भाषा बुझ्न, बोल्न र लेख्न सक्छ । कम्प्युटर भिजन प्रविधिमा भने कम्प्युटरले तस्बिर र भिडियो बुझ्न सक्ने सामथ्र्य राख्छ ।
एआईका फाइदा
विभिन्न क्षेत्रमा विभिन्न प्रयोजनका लागि एआईको प्रयोग गर्न सकिने हुँदा यसबाट धेरै फाइदा लिन सकिन्छ । एआईको प्रयोगमार्फत निर्णय प्रक्रियालाई छिटोछरितो बनाई हामीले आफ्नो निर्णय क्षमता अभिवृद्धि गर्न सक्छौँ । साथै यसले निर्णय प्रक्रियालाई आग्रह–पूर्वाग्रहरहित बनाई निष्पक्ष र तटस्थ तवरले गर्न मद्दत गर्छ ।
कतिपय कार्य पटक पटक गर्नुपर्ने हुन्छ । त्यस्ता कार्यमा एआईको प्रयोग गरी बिनाझन्झट सरल तरिकाले कार्य सम्पन्न गर्न सकिन्छ । जस्तो हामीले अनलाइन फाराम भर्दा एक पटक प्रविष्ट गरिसकेको तथ्याङ्कलाई पुनः प्रविष्ट गरी रहनु पर्दैन ।
एआईको प्रयोगले कुनै पनि प्रणालीमा हुन सक्ने मानवीय त्रुटिलाई न्यूनीकरण गर्न सकिन्छ । साथै यसले जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले भविष्यमा हुन सक्ने हानिनोक्सानीलाई कम गर्न पनि मद्दत गर्छ ।
एआईले मानवीय कार्यप्रवाहमा सुधार ल्याई कार्यकुशलता र उत्पादकत्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ । यसले स्वचालित प्रणालीको विकास गर्न र उपलब्ध स्रोतसाधनको चुस्त व्यवस्थापन गर्न मद्दत गर्छ ।
तथ्याङ्कसम्बन्धी कार्यहरू गर्न एआईले एकदमै सजिलो पार्छ । तथ्याङ्क सङ्कलन, प्रशोधन र विश्लेषण गर्न यसको भूमिका अति महत्वपूर्ण हुन्छ । तथ्याङ्कको बिचमा प्याटर्न (ढाँचा) र सम्बन्ध स्थापित गर्नुका साथै समस्या समाधान गर्न एल्गोरिदम निर्माण गर्नु त यसको सबैभन्दा महत्वपूर्ण कार्यभार नै हो ।
एआईले ठुलाठुला, जटिल र जोखिमयुक्त कार्यहरू गर्न, प्राकृतिक विपत् तथा अप्ठ्यारा परिस्थितिहरूको सामना गर्न र विज्ञान प्रविधि, अर्थतन्त्रलगायतका क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान गर्न सघाउँछ ।
एआईका बेफाइदा
एआईको प्रयोग सधैँ फाइदाजनक हुन्छ भन्ने छैन । यसको जथाभावी प्रयोगले गर्दा विभिन्न व्यक्ति तथा कम्पनीमाथि बेलाबखत नैतिक प्रश्न उठ्ने गरेको पाइन्छ । आफ्नो व्यावसायिक फाइदाका लागि व्यक्तिका निजी एवं गोप्य सूचना चोरी गरेको, सूचनाको दुरुपयोग गरेको र सूचनालाई अनधिकृत रूपमा तोडमोड गरेको आरोप त्यस्ता व्यक्ति तथा कम्पनीमाथि लगाइने गरिएको छ । यसले एकातर्फ विभिन्न किसिमका कानुनी झन्झट निम्त्याउँछ भने अर्कातर्फ सुरक्षा चुनौती थपिँदै गएको छ । पछिल्लो समयमा व्यक्तिको चरित्र हत्या हुने गरी निर्माण भइरहेका डिप फेक भिडियो (तस्बिर र आवाजको संयोजन गरी बनाइने नक्कली श्रव्यदृश्य सामग्री), खातामा अनधिकृत पहुँच कायम गरी भइरहेका वित्तीय ठगी एवं जालसाझीका घटना र अन्य विभिन्न किसिमका साइबर अपराध यसैका उदाहरण हुन् ।
एआईको प्रयोगले मानिसलाई अल्छी बनाउँदै लगेको छ । यसले स्मरण शक्ति घटाउनुका साथै सिर्जनात्मक र तार्किक क्षमतामा ह्रास ल्याइरहेको छ । हरेक प्रश्नको समाधान खोज्न ओपन एआई च्याटजिपिटी, गुगल जेमिनी, माइक्रोसफ्ट कोपाइलट जस्ता एआई च्याट प्लेटफर्म (माध्यम)को सहारा लिने बानीले यस्तो समस्या निम्त्याइरहेको हो ।
हरेक क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा प्राविधिक निर्भरता अत्यधिक बढ्ने सम्भावना रहन्छ । यसले मानवीय रोजगारी गुम्ने र अर्थतन्त्रमै प्रतिकूल असर पार्न सक्छ । त्यति मात्र होइन एआईको प्रयोगले गर्दा मानवीय अन्तर्क्रियामा कमी आउनुका साथै मानवीय संवेदना र भावनाको उपहास हुँदै गएको छ ।
एआई प्रविधिको सुरुवाती लागत बढी हुने र जोकोहीले एआईको प्रयोग गर्न नसक्ने हुँदा साना उद्योगी तथा व्यापारीहरूले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाउन सक्छ । विभिन्न मुलुकबिच युद्धका क्रममा जल, स्थल र हवाई मार्ग नियन्त्रण तथा निगरानीका साधनमा एआईको प्रयोग गरी स्वचालित रूपमा घातक हतियार चलाउन सक्ने जोखिम उत्तिकै छ । यो विश्वकै मानवजातिका लागि सबैभन्दा ठुलो चुनौती हो ।
नेपालमा एआई प्रयोग
एआईको प्रयोग गर्ने सन्दर्भमा विश्वव्यापी परिदृश्यको तुलनामा नेपाल निकै पछाडि रहेको छ । यद्यपि नेपालको बैङ्किङ, यातायात, कृषि, शिक्षा, यन्त्रमानव विकासलगायतका क्षेत्रमा केही प्रयास भएका छन् । ई सेवा, खल्तीलगायतका डिजिटल वालेट, यन्त्रमानव ‘परी’, नौलो रेस्टुरेन्टमा प्रयोग भएको यन्त्रमानवलगायतका पाइला टेक्नोलोजीद्वारा उत्पादित यन्त्रमानव, विभिन्न आईटी कम्पनीहरूद्वारा निर्माण गरिएका शिक्षा, स्वास्थ्य, कृषि, यातायातसम्बन्धी मोबाइल एप तथा सफ्टवेयर केही यसका उदाहरण हुन् । नेपालमा प्रयोग भइरहेको एआईलाई ‘विक एआई’ अर्थात् कमजोर एआईका रूपमा लिइन्छ ।
सन् २०२३ को सरकारी एआई तत्परता सूचकाङ्क (गभर्नमेन्ट एआई रेडिनेस इन्डेक्स २०२३)मा १९३ राष्ट्रमध्ये नेपाल १५० औँ स्थानमा रहेको छ । अक्स्फोर्ड इन्साइट्सले प्रकाशन गरेको प्रतिवेदन अनुसार ८४.८० अङ्कका साथ अमेरिका पहिलो स्थानमा छ भने सिङ्गापुर ८१.९७ अङ्कका साथ दोस्रो स्थानमा छ ।
तीन वटा स्तम्भका आधारमा गणना गरिने उक्त सूचकाङ्कमा नेपालले कुल ३०.७७ अङ्क हासिल गरेको छ, जसमा नेपालले सरकारी क्षेत्रको स्तम्भमा ३१.०४, प्रविधि क्षेत्रको स्तम्भमा २४.२१ र तथ्याङ्क तथा पूर्वाधार क्षेत्रको स्तम्भमा ३७.०६ अङ्क प्राप्त गरेको छ ।
एआई तत्परता सूचकाङ्कमा पछाडि रहे पनि नेपालको सूचना प्रविधिको क्षेत्रमा देखिएका पछिल्ला परिदृश्यले आशावादी बन्न सकिने प्रशस्त ठाउँ दिएको छ । यहाँ धेरै युवा कम्प्युटर, स्मार्टफोन र एआईप्रति निकै उत्सुक छन् । यो विषय अध्ययन गर्ने र यसैमा वृत्ति विकास गर्न चाहने युवाको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाउन सकिन्छ । एआईसम्बन्धी अध्ययन अध्यापन गराउने र सिप सिकाउने शिक्षण संस्था एवं कम्पनीको सङ्ख्या पनि बर्सेनि बढ्दै गइरहेको छ ।
गत आर्थिक वर्षमा मात्रै नेपालका सूचना प्रविधि सम्बद्ध कम्पनीले ५१ करोड ५४ लाख अमेरिकी डलर बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको तथ्याङ्क सार्वजनिक भएको छ । हालैको विनिमय दर अनुसार यो करिब ६८ अर्ब रुपियाँ बराबरको आम्दानी हो र यो रकम सन् २०२२ को तुलनामा ६४.२ प्रतिशतले बढी हो । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले गरेको अध्ययन प्रतिवेदनमा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सूचना प्रविधिको योगदान १.४ प्रतिशत रहेको उल्लेख छ ।
सरकारी स्तरबाट एआई प्रविधिको उच्चतम सदुपयोग गर्न उल्लेख्य प्रयास नभए पनि नागरिक एप जस्ता मोबाइल एपको विकास हुनु, चिपमा आधारित परिचयपत्रको व्यवस्था लागु गर्ने प्रयत्न गर्नु, विभिन्न कार्यालयका कामलाई स्वचालितकरण गर्दै लैजानु आदि कार्यलाई सकारात्मक पहलका रूपमा लिन सकिन्छ ।
समग्रमा, विश्वमा तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिको नेपालमा समेत उच्च सम्भावना रहेको छ । यस प्रविधिका नवीनतम चुनौतीको सामना गर्न आवश्यक स्पष्ट नीतिगत एवं कानुनी व्यवस्था हुनु पर्छ । साथै, सूचना प्रविधि पूर्वाधारको विकासमार्फत विभिन्न क्षेत्रमा यस प्रविधिको उच्चतम सदुपयोग गर्ने वातावरण निर्माण गर्नु पर्छ । जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन र मुलुकलाई सामाजिक विकास एवं आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन यसको प्रयोग बढाउनु पर्छ ।