नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भए । लोकतन्त्र आयो, गणतन्त्र पनि आयो । नयाँ व्यवस्था आए पनि देशले आर्थिक रूपमा मुहार फेर्न सक्यो कि सकेन, नागरिकका कठिनाइ हटे कि हटेनन्, युवाले रोजगारीका अवसर पाए कि पाएनन्, विदेश पलायन घट्यो कि घटेन ? के जनताको दैनिक जीवनयापन सहज र सरल छ त ? यी र यस्ता गम्भीर प्रश्नको उत्तर खोज्ने हो भने अवस्था दयनीय छ । यो अवस्थामा राज्यको प्रमुख कार्यभार भनेको नेपाललाई कसरी आर्थिक क्रान्ति र समृद्धिको बाटोमा लैजाने भन्नेमै केन्द्रित हुनु पर्छ । माथि उल्लिखित प्रश्नको उत्तर खोजिएन भने परिस्थिति कावुबाहिर जान सक्छ । यसतर्फ राजनीतिक दल, नेतृत्व र सरकारले गम्भीर भएर मनन गर्न जरुरी छ ।
नेपालको युवा जनसङ्ख्या विश्वकै दृष्टिमा धेरै महìवपूर्ण अवस्थामा छ । राष्ट्रिय युवा नीति २०७२ अनुसार, नेपालमा १६ देखि ४० उमेर समूहका व्यक्तिहरूलाई युवा मानिन्छ । २०७८ को जनगणना अनुसार नेपालको ४२.५६ प्रतिशत जनसङ्ख्या युवा उमेर समूहमा पर्छ, जुन झन्डै एक करोड २४ लाखको हाराहारीमा छ । यस उमेर समूहको जनसङ्ख्या ठुलो हुनुलाई नेपालले जनसाङ्ख्यिक लाभांशको रूपमा लिएको छ । यो समय नेपालका लागि युवा शक्तिको ऊर्जा, जोस र जाँगरमार्फत नेपाललाई आर्थिक रूपान्तरण गर्ने स्वर्णिम अवसर पनि हो ।
युवा शक्ति राष्ट्र निर्माणमा लगानी गरिएमा, देशको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासले नयाँ गति लिन सक्छ । पर्याप्त अवसरको अभावले गर्दा नेपालका युवाहरू विदेश पलायन भइरहेको वास्तविकता हाम्रासामु छर्लङ्ङ छ । पछिल्लो स्थानीय तह निर्वाचनले भने सकारात्मक सङ्केत दिएको छ । जस्तो, ४० वर्षमुनिका ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन्, जसले स्थानीय शासनलाई युवामैत्री बनाउने अपेक्षा गरिएको छ । यसको तुलनामा प्रदेश सभा र प्रतिनिधि सभामा क्रमशः २० प्रतिशत र १२ प्रतिशत मात्र युवा उपस्थिति छ, जसले नीति निर्माण तहमा युवाको सहभागिता अझै न्यून रहेको देखाउँछ । यसले सङ्केत गर्छ कि युवा सहभागिता अझै प्रोत्साहित हुन आवश्यक छ, विशेष गरी नीति निर्माणका क्षेत्रमा ।
नेपालको युवा नीति परिमार्जनको विषय अहिले बहसमा छ । मौजुदा नीतिमा १६–४० उमेरलाई युवाका रूपमा परिभाषित गरिएको थियो । नयाँ युवा नीतिमा १६–३०, १८–३५ वा पुरानै १६–४० मध्ये कुन उमेर सीमा उपयुक्त हुने भन्ने छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदा भारतमा १५–२९, बङ्गलादेशमा १८–३५, श्रीलङ्कामा १५–२९, र माल्दिभ्समा १८ –३४ उमेर समूहलाई युवा मानिएको छ । नेपालमा पनि यस्तै उमेर सीमा निर्धारण गर्ने विषयमा बहस भइरहेको छ ।
पछिल्लो चरणमा नेपालको द्रुत आर्थिक विकासमा सूचना प्रविधिले अभूतपूर्व क्रान्ति ल्याएको देखिन्छ । आइआइडीएसको तथ्याङ्कलाई आधार मान्दा नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका ६६ हजार आईटी जनशक्तिले वार्षिक ६७ अर्ब रुपियाँभन्दा बढी आम्दानी गरिरहेका छन् । यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेको देखाउँछ । यो मात्र होइन, सूचना प्रविधि सेवा निर्या तले देशको कुल गार्हस्थ उत्पादनमा १.४ प्रतिशत र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान पुर्याएको छ ।
यति हुँदाहुँदै पनि नेपालमा युवाका लागि रोजगारी, शिक्षा, स्वास्थ्य, र नेतृत्व विकास जस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय चुनौती देखिन्छन् । सन् २०२३ को विश्व युवा विकास सूचकाङ्कमा नेपाल १०८ औँ स्थानमा रहनु यसैको सङ्केत हो । नेपालका युवामा क्षमता छ, दक्षता छ तर तिनलाई समुचित मार्गदर्शन र अवसरको आवश्यकता छ । त्यति मात्र होइन, नेपालको आर्थिक विकासमा युवाको अभूतपूर्व योगदान सुनिश्चित गर्न यो समयले पनि माग गरेको छ । युवालाई उद्यमशीलता, नवप्रवर्तन र रोजगारीमा जोड्न जरुरी छ । चाहे आइटीको क्षेत्र होस्, कृषि, पर्यटन वा जुनसुकै क्षेत्रको होस् युवालाई उद्यमशीलता र व्यवसायमा लाग्न प्रेरित गर्नु पर्छ ।
नेपालको युवाशक्ति विदेश पलायन हुने क्रम चिन्ताजनक छ । यद्यपि, हरेक दिन करिब दुई हजार नेपाली युवा रोजगारीको खोजीमा विदेश जान्छन् भने १२ सयभन्दा बढी नेपाली युवा विदेशबाट स्वदेश फर्किरहेका छन् । यी फर्केका युवाको व्यवस्थापन र अभिलेख राख्ने प्रणाली अझै स्पष्ट भइसकेको छैन । विदेशबाट फर्केका युवाले सिकेका सिप, ज्ञान, र आर्जन गरेको पुँजीलाई स्वदेशमै परिचालन गर्नुपर्ने आवश्यकता छ । यसले देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्छ । विदेश फर्केका युवाको उद्यमशीलता र स्वरोजगारमा संलग्न हुनका लागि राज्यले छुट्टै नीति ल्याउन आवश्यक छ ।
नेपाल सरकारले अब यही चुनौती र अवसरलाई आत्मसात् गर्दै युवालाई स्वदेशमै योगदान गर्न उत्प्रेरित गर्नु पर्छ । युवालाई एकताबद्ध गर्दै, उनीहरूको विचार, क्षमता र नवप्रवर्धनलाई अघि बढाउन सहयोग गर्नु पर्छ । सरकारले उनीहरूलाई नीति निर्माण, उद्यमशीलता, नेतृत्व विकास र समृद्धिको मार्गदर्शनमा अभिप्रेरित गर्न जरुरी छ । आजको मुख्य उद्देश्य भनेको नेपाली युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु र उनीहरूलाई राष्ट्र निर्माणमा अग्रसर गराउनु हो ।
देशभरिका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर राष्ट्रनिर्माणको एउटा साझा सङ्कल्प गर्न अब ढिला गर्नु हुन्न । हामी देश कसरी निर्माण गर्न सक्छौँ, देशमा आर्थिक समृद्धि कसरी ल्याउन सक्छौँ, देशभित्रै रोजगारी कसरी सिर्जना गर्ने, उद्यमशीलताको अवस्था कसरी सिर्जना गर्ने, देशको शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ, युवाको भविष्य कसरी सुनिश्चित गर्न सक्छौँ ? भन्ने दिशामा अग्रसर हुन ढिला भइसकेको छ । समग्रमा हाम्रो सुन्दर नेपाललाई ‘समृद्धि नेपाल’ बनाउन हरेक क्षेत्रमा लागिरहेका मान्छेले साझा रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा गम्भीर मन्थन, छलफल, बहस गरेर एउटा साझा धारणा बनाउन आवश्यक छ । जसको सहजीकरण राज्यले छिटोभन्दा छिटो गर्नु पर्छ ।
सबै क्षेत्रका स्थापित युवा जो आआफ्नो क्षेत्रमा प्रचुर हौसला, ऊर्जा र क्षमता बोकर काम गरिरहेका छन्, उनीहरूलाई एउटै मञ्चमा उभ्याएर साझा धारणा, साझा छलफल गर्ने एउटा विशेष मन्थन गर्न जरुरी छ ।
खेलकुद क्षेत्रमा लागेकाहरूलाई उद्योगका बारेमा ज्ञान नहुन सक्छ । उद्योगको ज्ञान भएकालाई राजनीतिको ज्ञान नहुन सक्छ । त्यस्तै राजनीतिको ज्ञान भएकाहरूसँग व्यापार व्यवसायका बारेमा ज्ञान नहुन सक्छ । त्यसैले सबै क्षेत्रमा काम गरिरहेका युवा एकै ठाउँमा बसेर एकअर्काको अवधारणा आपसमा बाँढेर नयाँ, साझा एउटा सङ्कल्प गर्नु पर्छ ।
देशभित्रै बसेर निराशाको मात्र कुरा गरेर सकारात्मक परिवर्तनको कल्पना गर्न सकिँदैन । देशभित्रै पनि केही राम्रो काम गर्न सकिन्छ । नेपालभित्र पनि प्रचुर सम्भावना छन् । समस्या भनेको एउटा ठुलो अवसरसमेत हो । कुनै पनि समस्याले अवसर पनि जन्माउन सक्छ । त्यसैले देशका सबै युवा मिलेर देशभित्रै अवसर खोजौँ, देशमै अवसर निर्माण र उद्यमशीलताका कुरा गरौँ भन्ने सोच सबैमा आउन जरुरी छ ।
देशलाई शैक्षिक रूपमा कसरी रूपान्तरण गर्न सकिन्छ ? स्थायित्व र नैतिकतायुक्त राजनीति कसरी स्थापना गर्न सकिन्छ ? देशभित्र उद्योगधन्दाको विस्तार कसरी गर्न सकिन्छ ? रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? पर्यटन तथा खेलकुदलाई कसरी विकास र विस्तार गर्न सकिन्छ ? साथै नेपालका अन्य सामाजिक पक्षको विस्तारका निम्ति सकारात्मक सन्देशकसरी प्रवाह गर्न सकिन्छ भन्ने मुख्य विषयमा राज्यको ध्यान केन्द्रित हुनु पर्छ ।
सरकारले तत्काल गर्नुपर्ने काम
१. युवालाई उद्यमशीलता र रोजगारी सिर्जनामा प्रोत्साहन गर्ने : सरकारले युवालाई स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्नु पर्छ । स्वदेशमै व्यवसाय स्थापना गर्न, रोजगारी सिर्जना गर्न र देशको समृद्धिमा योगदान पुर्याउन युवालाई मार्ग दर्शन गर्नु पर्छ ।
२. नेतृत्व र क्षमता विकासको अवसर प्रदान गर्ने : युवा नेतृत्व विकासमा सरकारले महìवपूर्ण भूमिका निर्वाह गरेर देशभरका सक्षम र स्थापित युवाको विचार आदानप्रदान गर्दै नेतृत्व विकासका सम्भावना खोज्ने प्रयास निरन्तर गर्नु पर्छ ।
३. नवप्रवर्तन र उद्यमशीलतामा सहकार्य प्रवर्धन गर्ने : युवा उद्यमीहरूलाई एकै मञ्चमा ल्याएर नवप्रवर्तन र नयाँ व्यावसायिक सम्भावनाको खोजी गर्दै स्वदेशमै रोजगार सिर्जना गर्ने वातावरण तयार गर्ने ।
४. सामाजिक परिवर्तन र राष्ट्र निर्माणमा युवालाई बलियो बनाउने : सामाजिक परिवर्तनमार्फत युवाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । त्यसतर्फ सकारात्मक सोचको विकास गराउन अभिप्रेरित गर्नु पर्छ ।
५. युवामा नयाँ आशा र नयाँ भरोसा : अब सरकारले युवामा नयाँ आशा, नयाँ भरोसा, हौसला, उत्साह, नयाँ जोस, नयाँ जाँगर र नयाँ ऊर्जा थप्नु पर्छ ।
साझा बहस र छलफलबाट नयाँ अवसर र सम्भावनाको खोजी गर्दै देशमै केही गर्न सकिन्छ र केही न केही प्रयास निरन्तर गर्नु पर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु अति आवश्यक छ ।