केदार तिमल्सिना
बनेपा, असोज १८ गते । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रभावित बनेको काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरूमा नागरिकको आधारभूत आवश्यकताका रूपमा रहेको खानेपानी, विद्युत्, सडक तथा सञ्चार सेवा नियमित हुन सकेको छैन । बाढीपहिरोका कारण खानेपानीको पाइप, सडक, विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक थप मर्कामा परेका हुन् ।
बाढीपहिरोका कारण खानेपानीको पाइपलाइन, विद्युत् पोल, सडक, टेलिफोनको तारलगायतको क्षति हुँदा अहिलेसम्म प्रभावित स्थानमा यी सेवा नियमित हुन सकेको छैन । बाढीपहिरोबाट प्रभावित बनेको जिल्लाको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोपछि गाउँपालिकाभित्रको खानेपानी, विद्युत्, टेलिफोन र सडक सम्पर्कविच्छेदका कारण नागरिकको अवस्थाका बारेमा जानकारी पाउनसमेत मुस्किल भएको बताउनुभयो । उहाँले नागरिकको आधारभूत आवश्यकतामा रहेको खानेपानी, सडक, विद्युत्, टेलिफोनलगायतको सुविधा तत्काल पूरा गर्न सरोकारवाला निकायले छिटोभन्दा छिटो काम गर्नुपर्ने भन्दै तिनै तहको सरकारले अहिलेको अवस्थामा कसरी र के के काम गर्ने भन्ने विषयको वर्गीकरण गरी तत्काल काम गर्नुपर्ने र स्थानीय सरकारले गर्ने कामको लागि आफूहरू तयार रहेको बताउनुभयो । उहाँले गाउँपालिका जाने मुख्य सडक बिपी राजमार्ग ८० प्रतिशत क्षति भएकोले पालिकाभित्र खाद्यान्न अभाव हुने भएकाले हेलिकोप्टरबाट सबै बस्तीमा खाद्यान्न लैजानुपर्ने अवस्था रहेको बताउनुभयो ।
बाढीपहिरोबाट प्रभावित पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले बाढीपहिरोमा परी नगरपालिकाभित्रका मृत्यु भएका २० जनाको पहिचान भएको बताउँदै बाढीपहिरोका कारण नगरभित्रका पाँच सय घर पहिरोमा परी पूर्ण रूपमा क्षति भएको, ७१३ घरमा आंशिक क्षति र दुई हजारभन्दा बढी पशुचौपाया मरेको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण नगरभित्रका नागरिक खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत् सेवाबाट वञ्चित भएकाले नागरिकले दैनिकी कष्टकर बनेको बताउँदै काभ्रे उपत्यका एकीकृत खानेपानीको करिब ११ किलोमिटर खानेपानीको पाइपसमेत बगाएको बताउनुभयो । उहाँले बाढीपहिरोबाट २० वटा विद्यालयमा आंशिक क्षति र तीन वटा स्वास्थ्य संस्थालगायत सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै अवरुद्ध भएको सडक सञ्चालन गर्न सात दिनभन्दा बढी लाग्ने बताउनुभयो ।
पनौती, बेथानचोक, रोसी, धुलिखेल, तेमाल, महाभारत, खानीखोला, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका धेरै जसो स्थानमा खानेपानी, विद्युत् र सञ्चार सेवालाई सञ्चालन गर्न सकिएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोका कारण सडक सञ्जाल, विद्युत्, सञ्चार सेवा पूर्ण रूपमा क्षति भएको र खानेपानीका पाइप क्षतविक्षत अवस्थामा रहेको बताउनभुयो । उहाँले विद्युत् आपूर्ति, सडक खोल्ने, खानेपानीको समस्या समाधानका लागि पहल सुरु गरिएको बताउनुभयो । बाढीपहिरोका कारण विद्युत् आपूर्ति नभएका कारण नागरिकले मोबाइल फोन चार्ज गर्न पाएका छैनन् भने टेलिकमका टावर सञ्चालन गर्न विद्युत् नभएका कारण समस्या भएको छ ।
नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपाका प्रमुख इन्जिनियर अमृत अधिकारीले बनेपा र धुलिखेलमा मङ्गलबारबाट विद्युत् नियमित भएको, पनौतीमा बाढीपहिरोका कारण धेरै क्षति भएको बताउँदै पनौतीमा विद्युत् नियमित गर्न दुई दिन लाग्ने बताउनुभयो । उहाँले बेथानचोक र रोसी गाउँपालिकामा बाढीले धेरै क्षति गरेकाले नयाँ सर्किट नै बनाउनुपर्ने अवस्था रहेको, खानीखोलामा बागमतीले मुख्य प्रसारण लाइनको १४ वटा पोल बगाएकाले पोल लैजान नसकिएको र महाभारत गाउँपालिकामा बुधबारबाट काम सुरु हुने बताउनुभयो । नेपाल टेलिकम बनेपा शाखाले बाढीपहिरोका कारण टेलिकमको सेवा प्रभावित बनेको जनाएको छ । टेलिकमले बाढीपहिरोका कारण क्षति भएको अप्टिकल फाइबर, विद्युत् नहुँदा नचलेका टावर सञ्चालन, टेलिफोन र इन्टरनेटका तार मिलाउने काम भइरहेको जनाएको छ ।