• ९ मंसिर २०८१, आइतबार

खोलाले बगाएर दुई जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, असोज १७ गते । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो । 

मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्यामिरे खोलाले बगाएर बुधवार बिहान मकवानपुरगढी–५ सिमलटार बस्ने ६४ वर्षीया गोमाकुमारी दमाईको मृत्यु भएको छ । ज्यामिरे खोलाले बगाएर उहाँको शव सामरी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठाला जाने क्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता बनाएको थियो । मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरिकै मचाङमा घाइते अवस्थामा फेला परेका राईको उपचारको क्रममा मृत्यु भएको हो । 

मनहरी अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।