• ९ मंसिर २०८१, आइतबार

मृतकका परिवारलाई आर्थिक सहयोग दिन सुरु

blog

काठमाडौं, असोज १६ गते । बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका केही मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम हस्तान्तरण गरिएको छ ।

सरकारले विपदमा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता वापत रु दुई लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय अनुसार मंगलबारदेखि राहत रकम वितरण सुरु भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले काठमाडौंमा बुधबार नौ जना मृतकका परिवारलाई राहत रकम घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँले मृतकका परिवारलाई जनही  दुई लाख रुपियाँका दरले  १६ लाख र घर भत्किएका केही परिवारलाई गरी एक लाख रकम हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रजिअ आचार्यले काठमाडौंका दक्षिणकाली नगरपालिकामा दुई मृतकका परिवार, चन्द्रागिरी नगरपालिकामा दुई र नागार्जुन नगरपालिकामा पाँचजना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

त्यसैगरी, ललितपुर जिल्लाका दुई पालिकाका सातजना मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात जना मृतकका परिवारलाई गरी १३ लाख रुपियाँ राहत रकम घरमै पुगेर वितरण गरिएको बताउनुभयो ।

“राहत रकम वितरणलाई तीव्रता दिएका छौं ।” प्रजिअ श्रेष्ठले भन्नुभयो–“ यहाँ विपदबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा राखेर गासबासको प्रवन्ध समेत गरिएको छ ।”

यता भक्तपुरमा पनि विपदमा परी ज्यान गुमाएका चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले चार जना मृतकका परिवारलाई तीन लाख तीस हजार रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । त्यसका साथै अन्य प्रभावित जिल्लामा पनि राहत रकम वितरणका लागि तयारी भइरहेको छ ।।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान प्राकृतिक विपदबाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट नियमित सम्पर्क गरी विपदबाट विस्तृत जानकारी लिनुका साथै प्रतिकार्यमा सक्रियताका साथ खटिन निर्देशन दिनुभएको छ ।