• ८ मंसिर २०८१, शनिबार

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई ८० हजार जरिवाना

blog

बजार अनुगमन समितिले बजार अनुगमन गर्दै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १६ गते। दसैँको मुखमा आएर अखाद्य बिक्री गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कोहलपुरका तीन वटा व्यावसायिक फर्मलाई बजार अनुगमन समितिले ८० हजार रुपियाँ जरिवाना तिराएर कारबाही गरेको छ। 

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ मा रहेका विभिन्न व्यावसायिक फर्मलाई जरिवाना तिराइएको बजार अनुगमन समितिमा रहनुभएका वाणिज्य कार्यालयका प्रमुख हरिबहादुर खत्रीले बताउनुभयो। 

उहाँका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त टोलीले उपभोक्तामाथि खेलबाड गरेको भन्दै कोहलपुरको डल्फिन फुड प्रोड्रक्सनलाई ५० हजार, वाण्डरल्याण्ड एण्ड रेष्टुरेण्टलाई २० हजार र विनोद किराना पसललाई १० हजार गरी ८० हजार जरिवाना तिराएको हो।

अनुगमन टोलीले डल्फिन फुड प्रोड्रक्सनमा उत्पादन मिति नभएको, मूल्य सूची नभएको र अन्य कुनै पनि लेबल नभएको प्रोड्रक्ट्र भेट्टाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिम कसुर गरेको भेटिएकोले ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोजिम सो फर्मलाई ५० हजार जरिवाना कारबाही गरेको वाणिज्य कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो।

बजार अनुगमन टोलीमा खत्रीसँगै वाणिज्य कार्यालयकाका डम्बरबहादुर बुढा, गुण नियन्त्रण कार्यालयका एकराज बुढाथोकी, प्रतीक्षा पण्डित, कोहलपुर नगरपालिकाका अग्निप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो। 

चाडपर्व सकिने बेलासम्म बाँकेमा निरन्तर बजार अनुगमन जारी राखिने र मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही गरिने वाणिज्य कार्यालयले जनाएको छ।