• ८ मंसिर २०८१, शनिबार

दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने स्टिकर

blog

दुर्घटना रोक्न छाडा चौपायाको घाँटीमा टल्किने स्टिकर लगाइँदै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १६ गते । नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाउन सुरु गरिएको छ । 

छाडा चौपायाका कारण रातिको समयमा बढी दुर्घटना हुन थालेकाले रोक्न प्रहरीले छाडा चौपायाको घाँटीमा टाढैबाट टल्कने स्टिकर लगाउन थालेको हो । नेपालगन्ज उपमहानगरपालिका –४ र ६ स्थित सडकमा बढी छाडा चौपाया भेटिने गरेको हुँदा त्यहाँ भेटिएका छाडा चौपायालाई वडा प्रहरी कार्यालय नेपालगन्जले घाँटीमा टल्किने रिफ्लेक्टर स्टिकर टाँसेको वडा प्रहरी कार्यालयले जनाएको छ । 

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले दिउँसो मात्र नभ  छाडा गाबस्तुले रातको समयमा पनि दुर्घटना गराउने गरेकाले रोक्नका लागि छाडा चौपायाको घाँटीमा स्टिकर टाँस्न सुरु गरिएको बताउनुभयो । 

उहाँले सो स्टिकर टाढैबाट टल्किने हुँदा सडकमा आवागमन गर्ने सवारी साधन र मानिस दुबैलाई आवागमनमा सहज हुने तथा दुर्घटनाको जोखिम पनि कम हुने बताउनुभयो । 

छाडा गाबस्तुको घाँटीमा टल्किने स्टिकर लगाउन सुरु गरिए पनि सो कार्य अति नै गाह्रो रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बमले भन्नुभयो, ‘हाम्रो प्रयास छाडा चौपाया जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखेर गाइहरुले झम्टिन खोज्छन्, निकै मिहिनेत गरेर मात्र स्टिकर लगाउन सकिएको छ ।’ 

चैपायाको घाँटीमा स्टिकर लगाउन सादा पोशाकका प्रहरी परिचालन गरिने पनि उहाँले बताउनुभयो । नेपालगन्जको छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौती बन्दै गएको छ । सडकका चौपाया व्यवस्थापनका लागि पटक पटक विभिन्न योजना बनाइएको भए पनि अझै सो समस्या स्थायी रुपमा समाधान हुन सकेको छैन ।