महात्मा गान्धी विश्वमा यस्ता दार्शनिक हुन्, जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन् । स्वयम् आफैँले अनुभव गरेको कुरालाई जीवनको आदर्श बनाए । अहिंसालाई जीवनमा अपनाए । त्यसैले उनी अहिंसाका पुजारी बने । त्यसो त उनी आरोपमुक्त पनि छैनन् तर पनि उनी विश्वमै स्मरणीय छन् । उनले मानवताका लागि गरेको निस्वार्थ योगदानका कारण उनी स्मरणीय बनेका हुन् । सन् २००७ देखि गान्धी जयन्ती अक्टुबर २ लाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसका रूपमा मनाउँदै आएको छ ।
गान्धीको जन्म सन् १८६९ मा (गुजरात) काठियावाडको समुद्री तट (अरब सागर) पोरबंदर नामक सहरमा भएको थियो । पोरबंदरको पुरानो नाम सुदामपुरी थियो । बाल्यकालमा गान्धी अलि डरपोक र लजालु स्वभावका थिए तर समय बित्दै जाँदा आत्माको आवाज पछ्याएर असल कर्म गरे र त्यसमा उनलाई सफलता मिल्यो । कालान्तरमा भारतका राष्ट्रपिता, अहिंसाका पुजारी तथा शान्ति (अहिंसा) का युग प्रवर्तक बने । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घ परिसरमा महात्मा गान्धीको प्रतिमा अनावरणका अवसरमा संयुक्त राष्ट्र सङ्घको लक्ष्य र मूल्य मान्यता गान्धीको आदर्शबाट प्रेरित छ भनेका थिए ।
गान्धी शान्तिपूर्ण सहअस्तित्व, गैरभेदभाव र बहुलवादका कट्टर समर्थक थिए । गान्धीको साम्राज्यवाद विरोधी दृष्टिकोण संयुक्त राष्ट्रसङ्घका लागि आधारभूत बडापत्र थियो । बडापत्रका मसौदाकारले गान्धीको शान्ति, अहिंसा र सहिष्णुताको सन्देशबाट नै प्रेरणा लिएको पनि गुटेर्रेसले भनेका थिए ।
अहिंसाको सिद्धान्त पछ्याउँदै, औपनिवेशिक विरोधी प्रतिरोधका लागि लाखौँ मानिसलाई सङ्गठित गर्ने गान्धीको सफलताले संसारभरका मानिसलाई साँच्चै प्रेरित गर्यो । गान्धी ऐतिहासिक व्यक्तित्व मात्र नभएर दूरदर्शी विचार र मूल्यमान्यता, न्याय र सामाजिक परिवर्तनका लागि बोलेका व्यक्ति हुन् । त्यसैले आज पनि विश्वका लागि उत्तिकै सान्दर्भिक र अनुकरणीय छन् । वर्तमान विश्वमा जारी द्वन्द्व समाधानमा गान्धीको आदर्श र मूल मन्त्रलाई अपनाउन सके अवश्य पनि मुक्ति सम्भव छ । चाहे त्यो इजरायल र प्यालेस्टायनबिचको द्वन्द्व होस् वा युक्रेन र रसियाबिचको द्वन्द्व नै किन नहोस् ?
उनको विचारले दिगो विकासको अवधारणालाई प्रतिविम्बित गर्छ । उनको भनाइ छ, “गरिबी हिंसाको सबैभन्दा खराब रूप हो ।” सबैभन्दा कमजोरलाई उत्थान गर्न समाजमा न्याय व्यवस्था कायम गर्नु पर्छ, भन्ने उनको विश्वास थियो । त्यसै गरी २०२३ को सेप्टेम्बर ९ र १० मा भारतमा सपन्न जी २० को बैठकमा सहभागी अमेरिकी राष्ट्रपति बाइडेनदेखि विश्वका अन्य नेताले उनको समाधीस्थल दिल्लीस्थित राजघाट पुगेर उनको आदर्श र मूल्यमान्यता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै कदर गरेका थिए । उनको आदर्श व्यवहारमा उतार्न नसक्नु विश्व नेतृत्वको निहित स्वार्थ हो ।
कुनै पनि समस्यालाई गहन रूपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु उनको व्यावहारिक गुण थियो । भगवान् बुद्धले दुःखको कारण पत्ता लगाए जस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन् । विश्वमा समस्याका प्रकार धेरै छन् । जस्तै– धनी र गरिबबिचको विभेद, पूर्व र पश्चिमबिचको मतभेद, उत्तर र दक्षिणबिचको विभेद, आतङ्कवाद, जातीय युद्ध, उत्पीडन, भष्ट्राचार, अतिवाद, उन्माद, हिंसा, गरिबी आदि ।
यी समस्याको समाधान छ भन्ने कुरालाई उनको जीवन आदर्शले प्रमाणित गरिदिएको छ । त्यसका लागि ज्ञान योग, भक्ति योग र कर्म योगको सङ्गम जीवनलाई बनाउन सक्नु पर्छ । मानिस आध्यात्मिक हुन सक्नु पर्छ, न कि कर्मकाण्डी । गान्धीको अनुभव र आदर्शमा विश्वका समस्याको समाधान छ तर मानवले सत्यको मार्गलाई अनुसरण गर्न सक्यो भने मात्र । त्यो भनेको अहिंसाको मन्त्रलाई आत्मसात् गर्न तत्पर रहनु हो ।
गान्धी सधैँ समानता, स्वतन्त्रताका पक्षपाती रहे । भगवान् बुद्धका वाणीमा आधारित मैत्री, करुणा, मुद्धिकालाई अँगाल्दै मानव कल्याण र जगत् कल्याणका लागि उनले कार्य गरे । समाजिक प्रगति नै निराशाको अन्त्य हो भन्ने उनको मान्यता रह्यो । स्वतन्त्रताका लागि शस्त्र सुसज्जित साम्राज्यस“ग निशस्त्र आन्दोलन गरेर विजय प्राप्त गरे । विश्वलाई चकित बनाई दिए । विश्व राजनीतिक इतिहासमा उनको जित एउटा चमत्कार नै हो भन्दा हुन्छ । सत्ता परिवर्तनको लडाइँमा अहिलेसम्म त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाइँबाट कसैले विजय प्राप्त गरेको छैन ।
अहिंसालाई जीवन चरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो विभेद र अन्यायविरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनीबाट पाउन सकिन्छ । हतियारभन्दा कैयौँ गुणा प्रभावशाली हुन्छ अहिंसा मार्ग र सिद्धान्त । उनले सन् १९३० मा गरेको दाण्डी मार्च (दुई जना नेपाली पनि सहभागी थिए) होस् वा छुवाछुतविरुद्धको भैकाम आन्दोलनले उनलाई अहिंसात्मक आन्दोलनबाट नै देशलाई आजाद गराउन सकिन्छ भन्ने आत्मविश्वास जगाएको थियो ।
दक्षिण अफ्रिका प्रवासकालीन आन्दोलनदेखि सन् १९४८ जनवरी ३० सम्म आफ्नो हत्या हुँदासम्म उनी अहिंसाको मार्गबाट विचलित भएनन् । बाँच्नका लागि सशस्त्र हतियारकोे साहारा लिएनन् । संसार सशस्त्र शक्तिमा विश्वस्त भइरहेका बेला अहिंसामा पनि बल छ भनेर गान्धीले आधुनिक विश्वलाई देखाए । अहिंसाको मार्गबाट मुक्ति सम्भव छ भनेर प्रमाणित गरेर देखाए । त्यसैले उनलाई व्यावहारिक दार्शनिक भन्दा अतियुक्ति नहोला ।
तत्कालीन समयमा राजनीतिक लडाइँको विजय अहिंसाबाट प्राप्त गर्न सकिन्छ भन्ने विश्वास कसैलाई थिएन । गान्धीले त्यसलाई सिद्ध गरेर विश्वलाई विश्वस्त हुन बाध्य बनाए । परन्तु मन्डेला र अमेरिकी अश्वेत आन्दोलनका नेता मार्टिन लुथर किङ्ग उनको अहिंसात्मक आन्दोलनका अनुयायी बने । त्यसैले ती देशमा गान्धीको आदर्श र दर्शनको उच्च सम्मान छ । त्यसो त गान्धीलाई समकक्षी क्रान्तिकारी विचारक लेनिनले पनि एक प्रणेता र परिवर्तनकारी जनआन्दोलनका नेता हुन् भनेका थिए । भियतनामका पूर्वराष्ट्रपति होची मिन्हाले ‘गान्धी तपार्इंले हामी सबैलाई अहिंसाको मार्गमा हिँडाउन सक्नुहोस् । हामी पनि अहिंसाको मार्गमा हिँड्न सकौँ । हामी सबै क्रान्तिकारी हो तर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामी गान्धीकै शिष्य हौँ । योभन्दा कमबेसी कोही छैन’ भनेका छन् ।
मानिसको जीवनमा अरूको जीवन र वचनले प्रभाव पार्ने हो तर त्यसलाई व्यवहारमा स्वयम् मानिसले नै उतार्न सक्नु पर्छ । अनि मात्र चाहेको परिवर्तनको लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश गान्धीको जीवनीबाट पाउन सकिन्छ । हामीले पनि उच्च विवेकयुक्त कर्ममा आधारित आर्दश व्यवहार र चरित्र बनाउन सक्नु पर्छ, जुन आदर्श सादा जीवन र उच्च विचारका प्रतिमूर्ति गान्धीको जीवनीबाट अनुकरण गर्न सकिन्छ ।