• १५ असोज २०८१, मङ्गलबार

आफ्ना नागरिकलाई लेबनान छोड्न अस्ट्रेलियाको आग्रह

blog

क्यानबेरा, असोज १५ गते । बढ्दो द्वन्द्व र अशान्तिका बिच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी)ले एयरलाइन्ससँग समन्वय गरिरहेको बताउनुभएको छ । 

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अस्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारले बारम्बार चेतावनी दिइरहेको छ ।

लेबनानमा रहेका अस्ट्रेलियालीलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै  उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ ।

क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताउनुभएको छ ।

डिएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिंदै आएको जनाइएको छ । 

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्ककावादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ ।

यसैबिच अस्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ ।

यसअघि अस्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तीमा १५ हजार देखि ३० हजार अष्ट्रेलियाली अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो । रासस/सिन्ह्वा