• १५ असोज २०८१, मङ्गलबार

पूर्वबाट फेरि मौसम बदली सुरु

blog

काठमाडौँ, असोज १५ गते । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उहाँले बताउनुभयो ।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्यप्रदेश र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उहाँले बताउनुभयो । मङ्गलबार  राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ । रासस