• १५ असोज २०८१, मङ्गलबार

निःशुल्क जग्गादाता सम्मानित

blog

इलाका प्रशासन कार्यालय वालिङलाई निःशुल्क जग्गा दिने दातालाई सम्मान गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ, असोज १५ गते । इलाका प्रशासन कार्यालय वालिङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका दातालाई सम्मानित गरिएको छ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रशासनलाई जग्गा उपलब्ध गराएका पाँच जनालाई सम्मानित गर्नुभएको हो । 

सम्मानित हुनेमा वालिङ नगरपालिका–९, सुर्कौंदीका ध्रुवराज शर्मा, कपिलदेव शर्मा, विष्णुप्रसाद पङ्गेनी, यामकुमारी पङ्गेनी र खड्ककुमारी खाँण रहनुभएको छ । उहाँहरूले इलाका प्रशासन कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । 

वालिङको मुख्य भागमा रहेको राम्रो जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाता अन्य व्यक्तिका लागि पनि उदाहरणीय भएको मुख्यसचिव अर्यालको भनाइ छ । सुविधासम्पन्न भवन निर्माण भएपछि स्याङ्जाका पश्चिम क्षेत्रका नागरिकले सहज सेवा लिन पाएका उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै अर्यालले सिद्धार्थ राजमार्ग, आँधीखोला, ज्याग्दी खोला कोरिडोर निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । 

२०५७ सालमा वालिङमा स्थापित प्रशासन कार्यालय यसअघि वालिङ–८, कटौँजेमा भाडामा सञ्चालित रहँदै आएको थियो । साढे दुईतले १४ कोठे भवन अपाङ्गमैत्री बनाइएको छ भने आधुनिक प्रविधिबाट निर्माण सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । तीन करोड २२ लाखको लागतमा भवन निर्माण भएको हो ।