पुरुषोत्तम सुवेदी
पश्चिम् नवलपरासी, पुस ११ गते । समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
मदरसामा शिक्षण गर्ने शिक्षक र धार्मिक सभाहरूमा प्रभाव राख्ने धर्मगुरुहरूले अब पठनपाठन र धार्मिक प्रवचनको क्रममा अनिवार्य रूपमा दाइजोविरुद्ध सचेतना फैलाउने निर्णय गरेका छन्। ओल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीका अनुसार, यो अभियान मदरसामा मात्र सीमित नभई गाउँ–गाउँमा हुने धार्मिक कार्यक्रमसम्म लगिने बताइएको छ ।
अध्यक्ष मन्जरीले भन्नुभयो, “दाइजोले महिलामाथि हिंसा मात्र बढाएको छैन, यसले समाजलाई नै विकृत बनाएको छ। मुस्लिम समाजलाई दाइजोमुक्त बनाएर हामीले अन्य समुदायका लागि पनि उदाहरण प्रस्तुत गर्नुपर्छ।”
अगुवाहरूले आफ्ना छोराछोरीको विवाह गर्दा दाइजो लेनदेन नगर्ने भनी शपथ लिएका छन्। दाइजोलाई कानुनी र धार्मिक दुवै दृष्टिले अपराधको रूपमा अथ्र्याउँदै वक्ताहरूले यसलाई जरैदेखि उखेल्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा दाइजो प्रथाका अतिरिक्त मुस्लिम समाजमा बढ्दै गएको अन्य विकृतिहरूजस्तै जुवातास र मदिरापान, मिटरब्याज (शुदखोरी) र धार्मिक कट्टरता र विसंगतिजस्ता विषयमा कडा निगरानी राख्ने र सुधारका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको विकासमा मुस्लिम समुदायको अहम् भूमिका रहने उल्लेख गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै एकजुट हुनुपर्ने सन्देश दिएका छन्। धर्म र संस्कृतिको नाममा छिरेका कुरीतिहरू हटाएर मात्र समुन्नत समाजको निर्माण सम्भव हुने उनीहरूको निष्कर्ष छ ।