• १५ असोज २०८१, मङ्गलबार

वर्षाका कारण ग्रामीण सडक अवरुद्ध

blog

तम्घास समाचारदाता

तम्घास, असोज १५ गते । अविरल वर्षाका कारण गुल्मीका ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् । ग्रामीणस्तरका कच्ची सडकमा पहिरो खसेका कारण अवरुद्ध भएका हुन् । दसैँतिहार जस्ता पर्व नजिकिँदै गर्दा सडक मर्मत तथा पहिरो पन्छाउने कार्यलाई प्राथमिकता दिएको यहाँको स्थानीय सरकारलाई वर्षाका कारण गएको पहिरोले थप भार परेको छ । 

कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीका अनुसार पर्वलक्षित गर्दै ग्रामीणस्तरका सडक मर्मत गरेर सके पनि केही दिनअघि परेको अविरल वर्षाका कारण कच्ची सडक पुनः अवरुद्ध भएका छन् । सोमबारदेखि मौसममा सुधार आएकाले पुनः सडक मर्मतको कार्य अगाडि बढाउन लागेको उहाँले बताउनुभयो । 

सोमबार बिहानैदेखि ग्रामीण बस्तीबाट बाटो कहिले सफा हुन्छ, पहिरो कति बेला पन्छाइन्छ भन्दै फोन आउन थालेको दर्लामीले बताउनुभयो । केही दिनपहिले कालीगण्डकी गाउँपालिका–७, कन्चनी गौडामा गएको ठुलो पहिरो करिब सात लाख खर्चिएर पन्छाइएको बताउँदै पुनः सोही स्थानमा पहिरो खसेकाले समस्या भएको उहाँको भनाइ छ । अन्य ग्रामीण सडक पनि प्रायः पहिरोका कारण अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ । 

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले वर्षाका कारण ग्रामीणस्तरका सडक अवरुद्ध भएकाले सोमबारबाट सडक मर्मतको कार्य अगाडि बढाउने बताउनुभयो । दसैँतिहार जस्ता महत्वपूर्ण पर्व पनि नजिएकाले ग्रामीणस्तरका सडक मर्मत गरेर चिटिक्क पारिने उहाँको भनाइ छ । 

रुरुक्षेत्र गाउँपालिकाले सडक मर्मतको कार्य गर्दैगर्दा वर्षाको पूर्वसूचना जारी भएपश्चात् रोकेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । मौसम सफा हुँदै गएकाले सडक मर्मत कार्य अगाडि बढाउन लागेको उहाँको भनाइ छ । पालिकाको निजी एक्साभेटर रहेकाले पनि पहिरो पन्छाउन र मर्मतका लागि कुनै समस्या नहुने पाण्डेको दाबी छ ।

मुसीकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल र रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीका अनुसार सडक मर्मतको कार्य सुरु गर्दा वर्षा भएकाले रोकिएको र ग्रामीणस्तरका अवरुद्ध सडक खुलाउनका लागि सुरु गरिएको बताउनुभयो । वर्षा हुनुपूर्व सडक मर्मतको कार्य एक/दुई दिन मात्रै गरिएकाले बढी खर्चिलो भने नहुने उहाँहरूको दाबी छ । यसका साथै पर्वलक्षित सडक मर्मत र पहिरो पन्छाउने कार्यलाई प्राथमिकता दिइएको छ ।