• १५ असोज २०८१, मङ्गलबार

बिपी राजमार्ग पूर्ण सञ्चालन हुन केही समय लाग्ने

blog

बाबुराम देवकोटा/केदार तिमल्सिना

सिन्धुलीमाढी, असोज १५ गते । पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बिपी राजमार्ग र पूर्वी जिल्लाको सडक सञ्जालबिचको सम्बन्ध टुटेको छ । 

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीबाट बिपी राजमार्गको विभिन्न स्थानमा क्षति गरेपछि सङ्घीय राजधानी र पूर्वी जिल्लाबिचको यातायात सम्बन्ध टुटेको हो । करिब २० वर्षको निरन्तर प्रयासपछि २०७२ साल असार १८ गते बिपी राजमार्गको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । काठमाडौँ र तराईसँगको सडक सञ्जाल सुरक्षित हुने परिकल्पना गरेर निर्माण गरिएको बिपी राजमार्गलाई अविरल वर्षासँगै आएको बाढीले क्षति पु¥याएपछि मध्य तथा पूर्वी जिल्लासँगको सडक सम्पर्कविच्छेद भएको छ । 

२०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गरिएको हो । सोही योजना अनुसार जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट निर्माण कार्य सुरु गरेको थियो । राजधानी काठमाडौँलाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दीबास सडक योजना सन् १९६० तिर केही भागमा कामसमेत थालनी भए पनि त्रिभुवन राजपथको निर्माणपछि यो सडकको निर्माण कार्य स्थगित भएको थियो । तर पूर्वी नेपाललाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको यो राजमार्ग सञ्चालनमा आउन केही समय पर्खनुपर्ने भएको छ ।

राजमार्गको कुल १६० किलोमिटर लम्बाइमध्ये केही दिनअघि परेको अविरल वर्षाका कारण तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर लम्बाइ सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ । 

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर आइतबार साँझदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार तेस्रो खण्डको कमेरेफाँटको पहिरो पन्छाउनुका साथै सडक भासिएको कानढुङ्ग्रीमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बर्दीबासदेखि नेपालथोकसम्मको ११० किलोमिटर लम्बाइ सडकमा यातायात सञ्चालनमा आएको छ । राजमार्गको पहिलो खण्ड बर्दीबास–सिन्धुलीमाढी ३७ किमी र दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकमा निर्बाध रूपमा दुईतर्फी नै सञ्चालनमा छ । अविरल वर्षाका कारण नेपालथोक–खुर्कोट खण्डमा पहिरो खसेर, सुनकोशी नदीले सडक कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । 

डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले रोसी खोलाले नेपालथोक प्रहरी चौकीअगाडि करिब अढाई सय मिटर सडक कटान गरेर झारेको र त्यहाँ पनि अस्थायी डाइभर्सन बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ डाइभर्सन बनाउन मेसिन परिचालन गरिसकेका छौँ । मङ्गलबारसम्ममा सक्छौँ कि भन्ने आशा गरेका छौँ ।”

सिन्धुलीको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइराला दसैँको मुखमा बिपी राजमार्ग प्राकृतिक प्रकोपको चपेटामा परी यातायात सेवा रोकिँदा यात्रुलाई धेरै मर्का परेको र राज्यको सबै शक्ति लगाएर जति सक्दो चाँडै उक्त राजमार्ग सुचारु गर्नुपर्ने उहाँले बताउनुभयो ।

राजमार्गको चौथो खण्ड नेपालथोक–धुलिखेलको ५० किलोमिटर लम्बाइ सडकको विभिन्न भागमा सडक मर्मत गर्न भने केही समय लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । रोसी खोलामा आएको बाढीले चौथो खण्डको एक नम्बर पुल, नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ को सिमाना कटुञ्जेबेँसीनजिक करिब १५० मिटर सडक भत्काएपछि बिहीबारदेखि नै यातायात पूर्ण रूपमा बन्द छ । 

यस्तै बाढीबाट रोसी गाउँपालिका–८, नार्के बजारमा करिब १५० मिटर र रोसी गाउँपालिका–१०, कालढुङ्गा सडक पूर्ण रूपमा क्षति भएको छ । डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले रोसी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको करिब एक किलोमिटर सडकमा क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब एक किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ, राजमार्ग अन्तर्गत काभ्रेभन्ज्याङदेखि नै सडकमाथिबाट पहिरो आउने र सडक भासिएकाले सफा गर्ने काम भइरहेकाले अहिले नै कति सडक क्षति भयो भन्ने यकिन गर्न सकिने अवस्था छैन ।” 

कार्यालय प्रमुख योगेसले सुरुमा धुलिखेलदेखि चौकीडाँडासम्मको पहिरो पन्छाउने बताउँदै पहिरो पन्छाउने काम सकिएलगत्तै सडकमा के कसरी र कति दिनमा ट्र्याक खोल्न सकिन्छ भन्ने विषयको अध्ययन गरिने बताउनुभयो ।

महोत्तरीको बर्दीबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बिपी राजमार्गलाई चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको यस राजमार्ग निर्माणमा जापान सरकारले २६ अर्ब रुपियाँ लगानी गरेको छ । गणेश, हिमाल, तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले बाढीका कारण क्षतिग्रस्त भएको स्थानमा सडक डाइभर्सन नगरेसम्म सवारी आवागमन हुने अवस्था नरहेको बताउनुभयो । 

भकुण्डेदेखि नेपालथोकसम्मको करिब १९ मिटर सडकखण्ड बाढीपहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । राजमार्ग अन्तर्गतको १ नम्बर पुलमा २५० मिटर, चौकीडाँडा, माम्ती खोलामा र दाउन्नेमा सय सय मिटर तथा चार सयबँेसीमा ५० मिटर सडक अवरुद्ध भएको छ । यस्तै डालाबेँसी र कालढुङ्गामा पाँच पाँच सय मिटर र चिउरीबासमा तीन सय मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।