• १३ असोज २०८१, आइतबार

सप्तरीमा बेवारिसे शव फेला

blog

देवराम प्रसाद यादव

सप्तरी, असोज १३ गते । सप्तरीको सप्तकोसी नगरपालिका ३ सखुबनीस्थित त्रियुगा नदीमा आइतबार बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान खुल्न नसकेको अन्दाजी ६०-६५ वर्षको पुरुषको शव फेला परेको हो । 

त्रियुगा नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा दाउरा टिप्न गएका स्थानीयले देखेपछि स्थानीय फत्तेपुर प्रहरी चौकीलाई खबर गरेका थिए । फत्तेपुर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पन्नालाल चौधरीले शरीर गली सकेको हुनाले शव चिन्न सक्ने अवस्थामा नरहेकोले शवलाई अनुसन्धानपछि मात्र टुङ्गो लगाइने जानकारी दिनुभयो । 

उहाँका अनुसार मृतकको घाँटीमा तुलसीको माला, हातमा कालो डोरो र कम्बरमा गम्छा बाँधिएको छ भने अनुहार चिनिने अवस्थामा नरहेको, कङ्काल मात्र बाकी रहेको बताउनुभयो । प्रकृति मुचुल्का उठाएर शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिनुभयो ।