• १३ असोज २०८१, आइतबार

ब्रिगेड ब्याइजले जित्यो पथरीशनिश्चरे गोल्डकप

blog

उपाधिसहित ब्रिगेड ब्याइजका खेलाडी । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला 

उर्लाबारी, असोज १३ गते । पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्याइज क्लबले जितेको छ । 

मोरङको पथरीशनिश्चरे–१ स्थित प्रस्तावित नगर रङ्गशालामा भएको फाइनल खेलमा ब्रिगेडले सङ्कटा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । 

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा ब्रिगेडका पाँचै खेलाडीले गोल गर्नुभयो । भने सङ्कटाको अनीश परियारको प्रहार ब्रिगेडका गोलरक्षक रुविन बोगटीले बचाउनुभयो । उपाधिसँगै ब्रिगेडले तीन लाख रुपियाँ पायो । उपविजेता सङ्कटाले दुई लाख रुपियाँ प्राप्त गरेको छ । 

यस्तै प्रतियोगितामा सर्वाधिक गोल गर्ने झापा–११ प्रदीप बुढाथोकी, वेस्ट डिफेन्स विजेता टिमका दिवाकर चौधरी, वेस्ट गोलरक्षक विजेता टिमका रुविन बोगटी, वेस्ट मिडफिल्डर सङ्कटाका विवेक आलेमगर घोषित हुनुभयो । यस्तै राइजिङ प्लेयर्सको उपाधि आयोजक टिमका सुजन धिमालले पाउनुभयो । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेता र उपविजेतालाई पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापो र क्लबका अध्यक्ष सुमन विकलगायतले पुरस्कार प्रदान गर्नुभयो ।