• १३ असोज २०८१, आइतबार

बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन

blog

काठमाडौँ, असोज १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले वर्षा र त्यसपछि आएको बाढी पहिरोसहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदेश जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ औँ घण्टा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको डा. बुढाथोकीले बताउनुभयो ।

डा.बुढाथोकीका अनुसार मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्य साझेदारी निकायहरूसँग समन्वयन गर्न र स्रोत अद्यावधिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै, हब तथा स्याटलाइट अस्पताल सञ्जालहरूले अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न निर्देशन दिएको डा.बुढाथोकीको भनाइ छ ।

सबै प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।

दुई दिन परेको अविरल वर्षका कारण आएको बाढी पहिरो र डुबानबाट करिब एक सयभन्दा बढीको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् ।