• ८ मंसिर २०८१, शनिबार

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रुसी सेनाको दाबी

blog

मस्को, असोज ९ गते । रुसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको बताएको छ ।

टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ ।

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने शृङ्खलामा यो सहर रुसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।

युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेट्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ ।

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व सर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् । रासस/एएफपी