• ११ असोज २०८१, शुक्रबार

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, असोज १० गते । बाँकेको राप्तीसोनारी-४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी ४ धामपुर बर्काटोलस्थित बिलौनादेखी अगैयातर्फ जाँदै गरेको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको भे १२ प ८४२० नम्बरको मोटरसाइकल बिहीबार दिउँसो ठोक्किएको थिए । 

सो दुर्घटनामा परेर भे ७ प ४३४० नम्बरको मोटरसाइकल चालक नेपालगन्ज उपमहानगरपालिका २० राझाँ बस्ने वर्ष ४७ का लोक बहादुर वंशी र भे १२ प ८४२० नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी ६ फत्तेपुर बस्ने वर्ष २५ का राधेश्याम थारु गम्भीर घाइते हुनुभएको थियो । 

दुवै जना घाइतेको उद्धार गरेर तत्काल नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा लोक बहादुर वंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह वलिले बताउनुभयो । उहाँले सो दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका राधेश्याम थारुको नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको बताउनुभयो । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ । केही दिनअघि मात्रै सोही सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए । 

नेपालगन्ज–अगैया सडक खण्डमा पर्ने सो हुलाकी सडकको निर्माणपछि सडक राम्रो भएको र सवारीसाधन धेरै नचल्ने हुँदा खाली सडक पाएर मोटरसाइकल चालकहरूले तीव्र गतिमा मोटरसाइकल चलाउँदा पटक पटक दुर्घटनाहरू हुने गरेको स्थानीयको भनाइ छ ।