• ७ मंसिर २०८१, शुक्रबार

नेप्से परिसूचक ओरालो लाग्यो

blog

काठमाडौँ, असोज १० गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ ।

यस्तै, ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार बिन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् । रासस