• ११ असोज २०८१, शुक्रबार

विपद् न्यूनीकरणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ, असोज १० गते । गृहमन्त्री रमेश लेखकले सरकार विपद् न्यूनीकरण गर्दै नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले वर्तमान सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो । 

उहाँले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशील बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनका अनुकूलन एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेको बताउनुभयो । 

गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशील बनाउन थप प्राविधिक एवम् वित्तिय स्रोतको आवश्यक रहेको बताउनुभयो । 

गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालकालिका, महिला, नदी किनाराका बस्ती र अप्ठेरो भूगोलमा  बसोवास गर्ने दलित तथा सीमान्तकृत समुदायलाई धेरै हानि पुर्‍याएको बताउनुभयो । 

अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा पनि बहुआयामिक हानि पुर्‍याएको भन्दै उहाँले त्यसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको बताउनुभयो ।