• ११ असोज २०८१, शुक्रबार

कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण गरिँदै

blog

रामपुर–४, बडभान घाटमा ढुङ्गा विछ्याएर बनाइएको पैदलमार्ग । तस्बिर : इमान सिं राना

इमानसिं राना
रामपुर (पाल्पा), असोज १० गते ।
जिल्लाको रामपुर नगरपालिकाले कालीगण्डकी नदीलाई पर्यटनसँग जोड्न पैदलमार्ग निर्माण सुरु गरेको छ । कालीगण्डकी नदीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्त्वलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नदी किनारमा पैदलमार्ग निमार्ण सुरु गरेको हो ।

गत वर्षदेखि वडा नं.–१ को स्याउली बजारदेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदै वडा नं १० को सिद्धबाबा मन्दिरसम्म ४२ किलोमिटर पैदलमार्ग निर्माण सुरु गरेको हो । विश्वको शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई धार्मिक पर्यटनसँग जोड्न पैदलमार्गसँगै साइकलिङ्ग रुट निर्माणको योजना अघि बढाएको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । ‘‘पर्यटन प्रवर्द्धनसँगै कालीगण्डकीको महत्त्व बुझाउन, आन्तरिक र बाह्य पर्यटकलाई हाम्रो संस्कार र संस्कृतिसँग जोड्न नदीतटमा पैदल मार्ग निर्माणको काम अघि बढाइएको छ ।,’’ उहाँले भन्नुभयो ।

राम्दीदेखि देवघाटसम्म पैदल मार्ग निर्माण गर्ने अवधारणाका साथ नगरपालिकाले निर्माणको काम अघि बढाएको बताउँदै थापाले भन्नुभयो, ‘‘सिद्धार्थ राजमार्गको राम्दीदेखि देवघाटसम्म पैदल मार्ग निर्माण गर्ने अवधारणका साथ योजना अघि बढाएका छौं । छिमेकी स्थानीय तहसँग पनि योजनाको विषयमा छलफल र समन्वय भइरहेको छ ।’’ पैदलमार्गअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थालुहरुलाई लक्षित गरी ठाउँठाउँमा शौचालय, ढुङ्गेधारा, स्नान गृह, पार्क र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेली घर  निर्माण हुने उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले गत वर्ष पैदलमार्गको ट्रयाक खोल्न तथा केही संरचना निर्माण गर्न सङ्घीय समपूरक अनुदानबाट प्राप्त ६० लाख र नगरपालिकाको ६० लाख गरी एक करोड २० लाख रुपियाँमा ठेक्का खुलाई योजना अघि बढाएको थियो । चालु आर्थिक वर्षमा पनि सङ्घीय समपूरक अनुदान र नगरपालिका गरी थप कामका लागि दुई करोड ७० लाख विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले रामपुर नगरपालिका क्षेत्रभित्र एक अर्ब लागत अनुमानसहितको डिपिआर तयार गरी निर्माणको थालनी भएको बताउनुभयो । गत वर्ष विनियोजित बजेटमार्फत नयाँ ट्रयाक खोल्ने, दुई वटा प्रतीक्षालय तथा सिँढी निर्माण र ५५० मिटरमा ट्रायलको रुपमा ढुङ्गा बिछ्याउने कार्य ठेक्कामार्फत भइरहेको छ । ठेक्काको ८० प्रतिशतभन्दा बढी काम भइसकेको थापाले जानकारी दिनुभयो । यस वर्ष विनियोजित बजेटमार्फत डिपिआर अनुसार थप कामका लागि प्रक्रिया अघि बढेको थापाले बताउनुभयो ।

गत वर्ष निर्माणको ठेक्का पाएको गहौंकाली कन्ट्रक्सन प्रालिले गत वैशाख २३ गते ६५ लाख ७१ हजार ६ सय ९७ रुपियाँ लागतमा असार १० भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । समयमा ढुङ्गा नपाउँदा असोज मसान्तसम्म म्याद थप गरेर तीव्रगतिमा काम गरिरहेको निर्माण व्यवसायी विवेक पोखरेलले बताउनुभयो । ट्रयाक खोल्ने काम असारमा नै सकिएको र बाँकी काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । डिपिआर अनुसार पैदल मार्गसँगै दुई वटा स्वागतद्वार, ढुङ्गेधारा, कोसेली घर, शौचालय, स्नानगृह, ध्यान केन्द्र, शवदाह गृह, पार्क लगाएतका संरचनाहरु निर्माण हुनेछन् ।