• ११ असोज २०८१, शुक्रबार

कृषि तथा विद्युत् उत्पादनले नेपालको अर्थतन्त्रमा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडिबीले अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । 

कृषि तथा विद्युत् उत्पादनमा आएको सुधारले नेपालको अर्थतन्त्र गत आवको ३.९ प्रतिशतका तुलनामा थप सुधार आउने एडिबीको प्रक्षेपण छ । एडिबीका लागि राष्ट्रिय निर्देशक आर्नो कोस्वाले कृषि क्षेत्रको वृद्धिसँग नेपालको अर्थतन्त्र विस्तार निर्भर रहने बताउनुभयो । “आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाको पुनरुत्थानले अर्थतन्त्र बढ्ने छ,” उहाँले भन्नुभयो । 

आउटलुकले विद्युत् उत्पादन क्षमताको वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने उल्लेख गरेको छ । त्यस्तै पर्यटकको आगमनमा हुने वृद्धिले आवास र भोजन सेवा जस्ता गतिविधि विस्तार भई सेवा क्षेत्र विस्तार हुने प्रक्षेपण आउटलुकमा गरिएको छ । 

यसबाहेक लचिलो मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुने अनुमान छ । त्यस्तै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण, घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा पनि गरिएको छ । 

चालु आवमा नेपाल राष्ट्र बैङ्कको लक्ष्य अनुसार नै मुद्रास्फीति पाँच प्रतिशतभित्रै सीमित रहने पनि आउटलुकमा उल्लेख छ । खास गरी भारतमा मुद्रास्फीतिमा सामान्य गिरावट आएसँगै नेपालको मुद्रास्फीति पनि लक्ष्यभित्रै रहने अनुमान गरिएको छ । 

आउटलुकले नेपालको बाह्य क्षेत्र पनि नियन्त्रणमै रहने उल्लेख गरेको छ । व्यापार घाटामा गिरावट, उत्साहवर्धक विपे्रषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आवमा नै बाह्य क्षेत्र सुदृढ भएको जनाइएको छ । चालु आवमा चालु खाता घाटा अर्थतन्त्रको एक प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ । गत आवमा भने चालु खाता कुल गार्हस्थ उत्पादनको तुलनामा ३.९ प्रतिशतले बचतमा थियो । 

आउटलुकले मध्यपूर्वमा भूराजनीतिक तनाव बढेको अवस्थामा नेपालको विपे्रषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यवृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै आर्थिक मन्दीले पर्यटन क्षेत्र र प्राकृतिक वृद्धिले पनि अर्थतन्त्रमा असर पुग्न सक्ने अनुमान गरिएको छ । 

भारतमा तीव्र वृद्धिदर

दक्षिण एसियाली मुलुकमा भारतको आर्थिक वृद्धिदरले तीव्रता कायमै गर्ने एडिबीको अनुमान छ । प्रक्षेपण अनुसार भारतले सन् २०२५ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ । सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर सात प्रतिशत हुने अनुमान छ । 

भारतपछि भुटानको ७ प्रतिशत, माल्दिभ्सको ५.४ प्रतिशत, बङ्गलादेशको ५.१ प्रतिशत, पाकिस्तान र श्रीलङ्काको समान २.८ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान पनि एडिबीले गरेको छ ।