• ११ असोज २०८१, शुक्रबार

हाटबजार साँघुरिएपछि सडक तथा फुटपाथमा पसल राख्न बाध्य व्यापारी

blog

अतिक्रमित चन्द्रनिगाहपुर हाटबजार । तस्बिर |: यादवराज पुरी

यादवराज पुरी
रौतहट, असोज ८ गते ।
झण्डै पाँच दशकदेखि लाग्दै आएको हाटबजारको जमिन अतिक्रमण भएपछि स्थान अभावका कारण व्यापारी सडक तथा फुटपाथमा पसल राख्न बाध्य भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–६ को चन्द्रनिगाहपुर हाटबजार अतिक्रमणले साँघुरिँदै गएपछि व्यापारी सडक तथा फुटपाथमा पसल राख्न बाध्य भएका हुन् ।

जिल्लाकै पुरानो तथा ठुलो मानिने उक्त हाटबजारले झण्डै डेढ बिघा (२९ कठ्ठा) सरकारी जमिन चर्चेको थियो । हाल उक्त क्षेत्रमा व्यापारी तथा सर्वसाधारणले जमिन अतिक्रमण गरी ठुला ठुला पक्की घर तथा पसल बनाएका छन् । उक्त क्षेत्रफलमा लाग्ने हाट बजार हाल १४ कठ्ठा जमिनमा सीमित छ । आधाभन्दा बढी जमिन अतिक्रमित छ ।

झण्डै ५० वर्षदेखि लाग्दै आएको उक्त हाटबजार साँघुरिँदा व्यापारी सडक तथा फुटपाथमा व्यापार गर्न बाध्य छन् । सोमबार र शुक्रबार गरी साताको दुई दिन लाग्ने हाटको दिन सवारी साधन आवागमन ठप्प हुने गरेको छ । बजार लाग्ने सरकारी जमिन मनोमानी तबरले अतिक्रमण हुँदा पनि पालिका मौन रहेको नगरवासीको गुनासो छ । वडा अध्यक्ष सहदेव केसी भन्नुहुन्छ, “सम्भवतः यो जिल्लाकै ठुलो व्यापारिक हाटबजार हो । अतिक्रमित क्षेत्र खाली गराउन सके बजार झनै व्यवस्थित हुने थियो, तर जमिन खाली गराउन ठुलो चुनौती छ ।”

हाटबजार लाग्ने उक्त जमिनमा स्थानीय ३० जना व्यापारीले कब्जा जमाएका थिए । तीमध्ये १५ जना व्यापारीलाई साबिक चन्द्रनिगाहपुर गाउँ विकास समितिले अन्यत्र जग्गा उपलब्ध गराई बसोबास गराएको थियो । तर बाँकी रहेकालाई भने हटाउन सकेको छैन । पूर्व वडाध्यक्ष खड्गबहादुर कुशुवारले अतिक्रमणकारीलाई हटाउन प्रयास गर्नुभएको थियो, तर उहाँको एकल प्रयास सफल हुन सकेन ।

क्षेत्रफल साँघुरिएका कारण अव्यवस्थित बनेको सो बजारमा स्थान अभावले गर्दा स्थानीय कृषकले उब्जाएका सागसब्जी, फलफूल र अन्नबाली बाटोमै राखेर विक्री गर्नुपर्ने बाध्यता रहेको चन्द्रपुर–६ का किसान जयकिशन चौधरीले बताउनुभयो । उहाँले बजारको दिन यातायात सञ्चालन ठप्प हुँदा ढुवानीमा समेत समस्या भएको दुःखेसो गर्नुभयो । 

गाउँ विकास समिति रहँदा बजार व्यवस्थापकको जिम्मा पाउनुभएका रामबहादुर घलानले बजारको २९ कठ्ठा जमिनमध्ये हाल १४ कठ्ठा मात्र बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार कित्ता नं. १०५ को २९ कठ्ठा सो सरकारी जमिन हाल वृन्दावन नगरपालिका (साविक विश्रामपुर गाविस–९) की सिबियादेवी बैठाले भूमाफियाको संरक्षणमा २०४९ सालमा आफ्नो नाममा पास गराउनुभएको थियो । त्यसको १७ वर्षपछि चन्द्रनिगाहपुर गाविसको पहलमा जमिन फिर्ता भएको थियो । तर पनि जमिन खाली गराउन कतैबाट पहल भएको छैन ।

चन्द्रपुर नगरपालिकाको स्वामित्वमा रहेको अतिक्रमित उक्त बजारको जमिन खाली गराउन कार्यपालिकाले कैयौँ पटक सूचना जारी गरे पनि जमिन खाली हुन सकेको छैन । नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले चाडबाडको समय भएकोले अतिक्रमित जमिन खाली गराउन समस्या परेको तर चाडबाड सकिनासाथ सोको कार्यान्वयन गरिने बताउनुभयो ।