• ११ असोज २०८१, शुक्रबार

याक र हिउँचितुवा संरक्षणका लागि फुटबल

blog

मनाङमा याक र हिउँचितुवाको संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असोज ८ गते ।
मनाङमा याक र हिउँचितुवाको संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार ६ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भएको थियो भने तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा दोस्रो मैत्रीपूर्ण खेल प्रदर्शन भएको जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा. पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

स्पर्धामा टोली हिमालयन स्नो लियाेपर्ड (राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टोली कान्जिसरा याक र मनाङ ङिस्याङ याक स्थानीय युवाहरू बीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गराइएको आयोजक एन्ट फाउन्डेसनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । उहाँले काजिनसरा याक र मनाङ ङिस्याङ याकको खेल सकिएको जानकारी दिनुभयो ।

हिमालयन स्नो लिवपर्डमा कालाकार प्रशान्त ताम्राकार, मेनुका प्रधान, सुशील श्रेष्ठ, रेशमा पुन र असुसेन लामा छन् । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डङ्गोल छन् । प्रतिस्पर्धामा मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोही माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमनप्रताप अधिकारी, संरक्षणविद् डा. पारसविक्रम सिंह, आँखा विशेषज्ञ डा. किशोर प्रधान र उद्घोषक महिमा पण्डित भट्टराई रहेको आन्ट फाउन्डेसनले जनाएको छ ।

मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याकलगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

‘‘मनाङको जैविक विविधताको संरक्षणका लागि खेलकुदको माध्यमबाट यहाँका स्थानीयवासीमा सचेतना र सुसूचित गराउने उद्देश्यले मैत्रीपूर्ण खेल गर्दै आएका छौं । यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँचितुवा र याक महत्त्वपूर्ण छन् । यीबिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन कार्यक्रम गर्दै आएका छौं ।,’’जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा. पारसविक्रम सिंहले भन्नुभयो ।

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन छ । मैत्रीपूर्ण खेलले यहाँका स्थानीयमा सचेतना जगाउन टेवा पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत वर्ष आयोजना भएको मैत्रीपूर्ण खेलमा भएको सूचनाले यहाँका स्थानीयवासीमा हिउँचितुवा, याकका साथै हाम्रो जीवनसँग परस्पर जोडिएको जीवजन्तुको संरक्षण गर्नुपर्ने रहेछ भनेर सचेत भएको पाएका छौं ।’’

जैविक विविधताको संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले नै खेलकुदको माध्यमबाट सचेतना फैलाउन लागिपरेको हो । यसले जिल्लाका स्थानीय तह र आम नागरिकमा सचेतना वृद्धि भएको स्थानीय बताउँछन् । केही स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि विशेष रूपमा नै बजेटको व्यवस्थापनमा जोड दिँदै आएको छ । ‘हिउँचितुवा र याकका लागि सँगसँगै’ भन्ने नाराका साथ जिल्लाका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भइरहेका छन् ।