• ११ असोज २०८१, शुक्रबार

मदन भण्डारी स्मृति प्रतिष्ठानको प्रगति अविस्मरणीय : सभामुख

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कार्यक्रमको उद्घाटन गर्नुहुँदै ।

हरिप्रसाद कोइराला

उर्लाबारी, असोज ८ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिकूल राजनीतिका कारण मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय खोल्न नसकिएको बताउनुभएको छ । 

मोरङको उर्लाबारी –३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २३ ओैं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले प्रतिकूल अवस्थामा स्थापना भएको प्रतिष्ठानले अनुकूलता कायम गर्दै शैक्षिक क्षेत्रमा गरेको प्रगति अविस्मरणीय रहेको बताउनुभयो । 

पछिल्लो समय नर्सिङ शिक्षा अध्यापनमा आएको समस्या र इन्जिनियरिङको सम्बन्धनमा आएको अडचन समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कानुनी अप्ठ्यारा फुकाउन आफूले सहयोग गर्ने बताउनुभयो । 

सर्वसाधारणको पहुँचमा सुलभ ढङ्गले रोजगार दिनसक्ने दक्ष जनशक्ति उत्पादनमा मदन प्रतिष्ठानको भूमिका उच्च रहेको उल्लेख गर्दै सभामुख घिमिरेले मदन भण्डारीको विचारमा आधारित शिक्षाले स्वरोजगार बन्न र समृद्ध समाज निर्माण गर्नसक्ने बताउनुभयो ।

सभामुख घिमिरेले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि ऐन, कानुन निर्माणमा सहयोग गर्ने बताउँदै अब प्रतिष्ठानले सैद्धान्तिक कक्षा पनि सुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओेलीको सभापतित्वमा भएको साधारणसभामा संविधानसभा सदस्य दीपक कार्कीले स्वागत मन्तव्य गर्नुभएको थियो । प्रतिष्ठानले गत वर्ष विभिन्न विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । 

पुरस्कृत हुनेमा एमएस्सी सिएमका राजु अन्सारी, बिई सिभिलका रोमन बराल, बिई कम्प्युटरका भुवन घिमिरे र कविराज भण्डारी, डिप्लोमा बालीविज्ञानमा भूमिका खतिवडा, पशुविज्ञानमा मनीष स्याङ्वो तामाङ र सामान्य चिकित्सामा साहिल खान पुरस्कृत हुनुभयो । 

यस्तै, डिप्लोमा इन सिभिल इन्जिनियरिङमा प्रकृति ढकाल, एलपीएच भेटेरेनरीमा दिलबहादुर कोइराला, पिसिएल नर्सिङमा मनीषा कार्की पुरस्कृत हुनुभयो । यसैगरी प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङमा भावना बाँस्तोला र प्रियङ्काकुमारी दास हुनुहुन्छ । उहाँहरूलाई सभामुख घिमिरेले पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा नगरपालिका महासङ्घ कोशी प्रदेश अध्यक्ष दिलप्रसाद राई, उर्लाबारीकी उपमेयर मीना खतिवडा, प्रतिष्ठानका निर्देशक प्रा. विनोद अर्याललगायतले बोल्नुभएको थियो ।