• ११ असोज २०८१, शुक्रबार

कृषि पर्यटक बढाउन ‘स्याउ टिप्ने–खाने’ मेला

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज ८ गते । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । 

गएको मङ्गलबारदेखि सुरु भएको सो मेला जारी छ । एक हप्तासम्म सञ्चालन हुने सो मेलामा आगन्तुकको चाप बढेकाले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको छ । कृषिप्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि सँगै जोडेर अघि बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रवर्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको हो ।

स्याउका लागि नेपालमै चर्चित ब्राण्ड हो मार्फा । त्यही मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रका स्याउ बगैंचामा अहिले लटरम्म फलेका स्याउसँगै रमाउने फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालहरु टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार हुने भएकाले स्याउ मेला आयोजना गरिएको छ । 

स्याउको बगैंचामा थालिएको यो मेलाले आगामी दिनमा अरु क्षेत्र तथा अन्य फलफूल बगैंचामा पनि आयोजना गर्न सकेमा थप प्रचार र प्रभाव देखिने शीतोष्ण वागवानी विकास केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

समय अगाबै स्याउ बजार पठाउँदा गुणस्तरमा कमि पाइएको भन्ने बजारको आरोपपछि असोज १ गतेदेखि मात्र स्याउ टिपेर बजार पाठाउने निर्णयले गर्दा स्याउमा स्वाद र रङ दुबै राम्रो भएको छ । सोही जिल्लास्तरको निर्णयअनुसार मुस्ताङका स्याउ बगैचामा अहिले धमाधम स्याउ टिप्ने काम सुरु भएको छ । 

यही स्याउ टिप्नेक्रम बढेको समयमा शीतोष्ण वागवानी विकास केन्द्रले मुस्ताङ भ्रमण गर्ने अनुकुल समय तथा स्याउ टिप्ने सिजनको समेत सदुपयोग गर्दै पर्यटन प्रवर्धनको ध्येयसहित स्याउ टिप्ने खाने मेला सञ्चालन गरेको शीतोष्ण वागवानी विकास केन्द्र प्रमुख आत्रेयले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र उत्पादन भएको स्याउ क्षेत्र अन्तर्गत एक क्षेत्र तोकेर स्याउ टिप्ने खाने मेला सुरु गरेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले कृषिसँगै पर्यटनलाई जोड्ने ध्येयले पर्यटकलाई स्याउ टिप्ने खाने सुविधा उपलब्ध गराउन शीतोष्ण वागवानी विकास केन्द्रको कार्यालय अगाडिको निश्चित क्षेत्र तोकेको आत्रेयले बताउनुभयो । 


बोटमा फलेका लटरम्म स्याउ पर्यटक आफै सीमित शुल्क तिरेर बगैचाभित्र घुम्दै धित मरुन्जेल स्याउ टिपेर खान पाउने व्यवस्था गरिएको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । लिएर जान पाइँदैन टिपेर खान चाहिँ पाइने व्यवस्था छ । 

बागवानी फार्मको तोकिएको स्याउ बगैंचामा पुगेर स्याउ टिपेर खान प्रतिव्यक्ति दुई सय रुपियाँ राजस्व शुल्क तोकेको छ । केन्द्रले तोकेको बगैंचा क्षेत्र बाहेक अन्य बगैंचामा पसेर स्याउ टिपेर खान भने नपाउने जनाइएको छ । स्याउ टिप्ने खाने मेलामा पर्यटकले बगैंचाभित्र फोटो, भिडियो खिच्नुका साथै टिकटक भिडियो र फेसबुक रिल बनाउने गरेको आत्रेयले बताउनुभयो ।