• ११ असोज २०८१, शुक्रबार

सुशासनका लागि साझा प्रयास आवश्यक : मुख्यमन्त्री लामा

blog

प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ ।

राममणि दाहाल

हेटौँडा, असोज ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले सुशासनका लागि सबैको साझा प्रयास र प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । 

बागमती प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरुले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सुशासन दिन र सुशासनको प्रत्याभूति दिलाउन कुनै एक व्यक्ति वा दल लागेर मात्र नहुने, सबै मिल्नुपर्ने बताउनुभएको हो । 

‘एक जनाले मात्र गर्छु भनेर हुँदैन, म मात्र सुध्रिएर हुँदैन तपाईमा मात्र सुधार आएर हुँदैन’ भन्दै सबैमा सुधार आयो भने मात्र सुशासनको प्रत्याभूति दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “तपाई हामी सुध्रिएपछि मात्र सुशासन दिन सकिन्छ ।”

चाडपर्वको समयमा हुने कालोबजारी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले सचेतना लगायतका काम अगाडि बढाएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामी हल्लाको पछि लाग्दैनाैं, काम गर्छौं र समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।”

प्रदेश सभाको बैठकमा सोमबार विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य रमा आले मगरले विपत्तिकाे समयमा प्रदेश सरकारको भूमिका नदेखिएको बताउनुभयो । प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सर्वोच्च अदालतको नदी खोला किनारका बस्तीसम्बन्धी नयाँ मापदण्ड र आदेश कार्यान्वयनमा आउँदा धेरै नागरिक प्रभावित हुने, उठिबास हुने, सुकुम्बासी बन्ने र रैथाने नागरिक ठूला सङ्ख्यामा मर्कामा पर्ने अवस्था आउने बताउनुभयो ।

प्रदेश सभा सदस्य गोविन्द लम्सालले मन्त्रीहरु मन्त्रालयमा आएनन् भन्ने सुन्न नपरोस् भन्नुभयो । प्रदेश सभा सदस्य मधुसूदन पौडेलले सहकारीमा नियमन नगर्दा अहिलेको समस्या आएको हो, भन्नुभयो ।

यस्तै, प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले विपत्को समयमा प्रदेश सरकारको उपस्थिति नदेखिएको बताउनुभयो । प्रदेश सभा सदस्य मायादेवी शर्माले चाडपर्वको समयमा बजार अनुगमनमा कडाइ गर्न माग गर्नुभयो । 

यसैगरी प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठले काठमाडौँ उपत्यकामा अदालतले नदी किनार बसोबासको सन्दर्भमा २० मिटरको नयाँ मापदण्डले नागरिकलाई विस्थापित गर्ने र नागरिकलाई जबर्जस्ती सुकुम्वासी बनाउन खोजेको आरोप लगाउनुभयो । 

प्रदेश सभाको विशेष समयमा प्रदेश सभा सदस्यहरु शकुन्तला श्रेष्ठ, प्रभात तामाङ, रुकु चौलागाई, डा. दिनेशचन्द्र देवकोटा, बिन्दु श्रेष्ठ, शुष्पा न्यौपाने भुजेल, थापा, अमृता नेपाल, ईश्वर सापकोटा, इन्द्रप्रसाद गोतामे, बालकुमारी विश्वकर्मा, देवेन्द्र श्रेष्ठलगायतका प्रदेश सभा सदस्यहरुले धारणा राख्नुभएको थियो ।