• ११ असोज २०८१, शुक्रबार

लापर्बाहीले सडक निर्माणमा ढिलाइ

blog

अलपत्र परेको घोराहीको सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालय जोड्ने सडक । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, असोज ८ गते । निर्माण कम्पनीको लापर्बाहीका कारण घोराहीमा बनिसक्नुपर्ने करिब आधा दर्जन सडक निर्माणमा ढिलाइ भएको छ । समयमा काम नगर्ने प्रवृत्तिका कारण घोराहीको मुख्य बजारदेखि ग्रामीण क्षेत्रका सडक लामो समयदेखि निर्माण हुन नसक्दा अलपत्र परेका छन् । 

घोराही उपमहानगरपालिकाको कार्यालयको गेटअगाडिको करिब एक हजार २४४ मिटर सडक करिब तीन वर्षदेखि अलपत्र परेको छ । घोराही उपमहानगरपालिका–१५ अन्तर्गत नेपाल बैङ्कदेखि जिल्ला प्रशासन कार्यालयसम्मको करिब एक हजार २४४ मिटर सडक छ महिनाभित्र विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । 

सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३१ गतेसम्म सडक विस्तारसँगै कालोपत्रेको काम सक्नुपर्ने भए पनि अझै सडक कालोपत्रे हुन सकेको छैन । घोराही उपमहानगरपालिकाको गेटसँगै जिल्ला प्रशासन कार्यालयअगाडिकै सडक कालोपत्रे हुन नसक्दा सेवाग्राहीलाई धुलोले समस्या गर्ने गरेको छ । 

सडक निर्माणका लागि म्याद थपसँगै घोराही उपमहानगरपालिकाले २०८१ पुस मसान्तसम्मलाई काम गर्ने अन्तिम अवसर प्रदान गरेको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरेले बताउनुभयो । सडक निर्माणका लागि म्याद थपसँगै ताकेता गर्नेदेखि समयमै काम नगरेकाले जरिबाना गरे पनि निर्माण कम्पनीले काम नगरेको उहाँले बताउनुभयो । एक करोड १५ लाख ३४ हजारमा सम्झौता भएकोमा हालसम्म सडक निर्माणका लागि ५३ लाख ११ हजार चार सय रुपियाँ भुक्तानी भएको छ । समयमा काम नगरेकाले उपमहानगरपालिकाले करिब ११ लाख रुपियाँ जरिबाना गरेको छ । 

त्यसै गरी कनरिया–दलजितपुरलगायतका सडक निर्माणको काममा पनि ढिलाइ भएको छ । घोराही उपमहानगरपालिका–७ को कनरियादेखि वडा नं. ५ को दलजितपुरसम्मको १३.५० मिटर सडक, घोराहीकै वडा नं. १८ को शङ्खेपिपलदेखि वडा कार्यालयसम्मको चार सय मिटर सडक बनाउने सम्झौता भएको थियो ।  

वडा नं. १७ को भैसाहीचोकदेखि गैरागाउँ जोड्ने ९५० मिटर सडक २०८० जेठ मसान्तभित्र कालोपत्रे गरिसक्ने गरी २०७९ वैशाख ६ गते आरडी/हाम्रो जेभी सुर्खेतसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार बेस निर्माणको काम गरे पनि कालोपत्रेको काम गरेको छैन । 

सडक निर्माणका लागि २०८१ पुस मसान्तसम्म मौका दिएको र उक्त समयमा सडक निर्माणको काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको इन्जिनियर घिमिरेले बताउनुभयो । इन्जिनियर घिमिरेले भन्नुभयो, “निर्माण कम्पनीलाई काम गर्ने अन्तिम अवसर उपमहानगरपालिकाले दिएको छ, यो अवधिमा पनि काम भएन भने ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु हुन्छ ।” भ्याटबाहेक पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको सडकको हालसम्म एक करोड २८ लाख भुक्तानी भएको छ । काममा ढिलाइ गरेबापत घोराही उपमहानगरपालिकाले निर्माण कम्पनीसँग ३४ लाख ३७ हजार रुपियाँ जरिबाना गरेको छ । 

त्यसै गरी घोराही उपमहानगरपालिकाकै सौरी– थारूगाउँ सडक अन्तर्गत मानबहादुरको मिलदेखि शङ्कर गौतमको घरसम्मको करिब २६४ मिटर सडक तीन वर्षदेखि अलपत्र परेको छ । २०८० जेठ २५ गतेसम्म सडक निर्माणसँगै कालोपत्रे गर्ने गरी २०७८ वैशाख ५ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार करिब ७० देखि ७५ प्रतिशत काम गरेको निर्माण कम्पनीले बाँकी काम अलपत्र पारेको छ ।