• ११ असोज २०८१, शुक्रबार

भैरहवा–परासी सडक : जनप्रतिनिधिको दबाबपछि काम सुरु

blog

भैरहवा समाचारदाता 

भैरहवा, असोज ८ गते ।  निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको भैरहवा–परासी सडकखण्डको काम जनप्रतिनिधिको दबाबपछि सुरु गरिएको छ । 

रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवसहित स्थानीयले सडकमै धर्ना दिएपछि अलपत्र सडकको काम थालिएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवास्थित भैरहवा–परासी सडकखण्डमा अहिले सडक मर्मत धमाधम भइरहेको छ ।

गत शुक्रबार यहाँ जनप्रतिनिधि नै सडकमा धर्ना बसेपछि ठेकेदारले काम सुरु गरेका हुन् । सडक विभागले विशेष मर्मत शीर्षक अन्तर्गत दुई वर्षअगाडि ३३० मिटर सडक मर्मतका लागि ठेक्का सम्झौता गरे पनि अहिलेसम्म मर्मत नभएपछि दबाबस्वरूप नै विश्वकर्माको नेतृत्वमा जनप्रतिनिधि सडकमा धर्नामा बसेका थिए ।

उक्त सडक ६८ लाखमा मर्मत गर्ने गरी निर्माण कम्पनी ओमकार बिल्डर्सले ठेक्का सम्झौता गरेको छ । सडक भत्काएर छाडिएको थियो । घामलाग्दा, धुलो र पानी पर्दा हिलोले यो खण्ड भएर आउजाउ गर्ने नागरिकले सास्ती भोगिरहेका छन् । 

जनप्रतिनिधि सडकमा धर्ना बसेपछि सडक डिभिजन कार्यालय बुटवलले निर्माण व्यवसायीलाई सडक मर्मत स्थलमै बोलाएर कागज गराएको थियो । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले निर्माण व्यवसायीले १० दिनभित्र काम सम्पन्न गर्ने लिखित कागज गरेको बताउनुभयो । समयमा काम नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का रकमको १० प्रतिशत जरिबानासमेत लिइसकेको उहाँको भनाइ छ ।

दबाबपछि शुक्रबारबाटै सडक मर्मतको काम धमाधम भइरहेको छ । निर्माण व्यवसायी ओमप्रकाश भण्डारीले शुक्रबारदेखि नै सडकमा काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ, बेस तयार भएकाले कालोपत्रेको तयारी गरिएको छ ।” भैरहवा–परासी सडकखण्डमा यतिबेला नयाँ उद्योगसमेत स्थापना भइरहेका छन् तर निर्माण व्यवसायीले सडक खनेर यत्तिकै छाडिदिएपछि उक्त सडकमा सवारी आवागमनमा समस्या भएको छ । 

भैरहवा–परासी हुलाकी सडकको नामले परिचित उक्त सडकको काम नभएपछि एमाले केन्द्रीय सचिवसमेत रहनुभएका पूर्वमन्त्री विश्वकर्मा नै सडकमा धर्ना बस्नु परेको थियो । काम समयमै सकेर छाड्ने ठेकेदारको भनाइ छ ।