• ११ असोज २०८१, शुक्रबार

निसेलढोर अझै अन्धकार

blog

बागलुङ जिल्लाको विद्युत् नपुगेको निसेलढोर गाउँ । तस्बिर : साधन घर्ती/गोरखापत्र

साधन घर्ती 

म्याग्दी (दरबाङ), असोज ८ गते । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ स्थित  विकट गाउँ निसेलढोर पूर्वी रुकुमको सिमानासँग जोडिएको छ । भौगोलिक रूपमा विकट गाउँ निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । ढोरपाटन सिकार आरक्षभित्रको यो गाउँमा अहिलेसम्म विद्युत् पुगेको छैन । निसेलढोरवासी अन्धकारमा बस्न बाध्य छन् । निसेलढोरवासीले टुकी र दियालोका भरमा दैनिक गुजारा चलाउँदै आएका छन् । विद्युत् सुविधा नहुँदा स्थानीयले दियालो, टुकी र भाङ बालेर रात बिताउने गरेका छन् । 

स्थानीय महेन्द्र घर्तीमगरले भन्नुभयो, “दुर्गम हाम्रो गाउँमा विद्युत् नहुँदा अन्धकारमा बस्न बाध्य भएका छौँ ।” गाउँवासीमध्ये केही दियालो र टुकी बालेर तथा पैसा हुने केहीले पछिल्लो समय सोलार जडान गरेका छन् । यहाँ त्यसरी नै दैनिकी चलिरहेको छ ।” उहाँले गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरू सूचना सञ्चारबाट टाढा रहनु परेको दुःखेसो पोख्नुभयो । केही वर्षअघि मात्र गाउँमा सडक पुगेको थियो । स्थानीय ७५ वर्षीय जुमबहादुर बुढाथोकीमगरले आफूहरूलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “अन्य ठाउँका बस्तीमा जस्तै झिलिमिली बत्ती हाम्रो गाउँमा कहिले आउला भन्ने लाग्छ ।” पछिल्लो समय करिब ७५ परिवार बाह्रै महिना स्थायी रूपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा छ सयभन्दा बढी घरपरिवार हुन्छन् । उज्यालो खोजिरहेका निसेलढोरवासीले बर्खाको समयमा पशुचौपाया पाल्ने र आलु एवं स्याउ खेती गर्दै आएका छन् । 

बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसीगाउँमा बस्ने गर्छन्  । निसेलढोर लेक क्षेत्र पर्छ भने निसीगाउँ बेँसी क्षेत्र हो । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसीगाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रूपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको छ । 

ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले निकै आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमै छ । पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कम मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रूपमा बस्नेको सङ्ख्या बढ्न थालेका छन् । 

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्‍याउन अघिल्लो वर्षदेखि काम सुरु गरेको बताउनुभयो । ढोरपाटन नगरपालिका–९, भुजीस्थित भुजी लघुजलविद्युत् आयोजनाबाट निसेलढोर जोड्ने उहाँको भनाइ छ । गत वर्ष केही स्थानमा पोल गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा वायरिङको काम सकेको भन्दै यस वर्ष विद्युत् जसरी पनि बाल्ने लक्ष्य लिएको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । विद्युत् र सञ्चारको पहुँच विस्तार हुन सके यहाँका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । स्थानीयलाई दियालो र दाउरा काट्न सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो पार्न निकै अप्ठ्यारो हुने गरेको छ । यहाँ आधारभूत तहको कक्षा ५ सम्म मात्र पढाइ हुँदै आएको छ । कक्षा ५ पछि माध्यमिक तहको अध्ययनका लागि निसीगाउँस्थित ज्ञानेन्द्र माविमा जानुपर्ने बाध्यता छ ।