• ११ असोज २०८१, शुक्रबार

आठ वर्षपछि पुल निर्माण

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असोज ८ गते । रुकुमपश्चिममा तीन वर्षमै सम्पन्न गर्ने गरी सम्झौता भएको पुल आठ वर्षपछि निर्माण भएको छ ।  जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने राप्ती राजमार्ग अन्तर्गतको गाराघाट पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको हो । 

सानीभेरी नदीमाथि निर्माण गरिएको उक्त पुलको पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको छ । पुल उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री शर्माले ढिलै भए पनि निर्माण भएको पुलले आर्थिक विकास र सहज यातायात सेवामा टेवा पुग्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२/७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । भ्याट रकमबाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्ने गरी नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न हुने गरेर २०७३ असार ३१ गते सम्झौता गरेको थियो । 

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाका बेला पुलको डिजाइन ‘पायल’ फाउन्डेसनमा आधारित थियो तर यो फाउन्डेसनबाट उक्त स्थानमा पक्की पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउन्डेसन डिजाइन गरिएको थियो । डिजाइन परिवर्तनपछि काम तीव्र पारेर पुल निर्माण सफल भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । अहिले पुल प्रिस्टेट मोडलमा बनेको छ । ८० मिटर लम्बाइ रहेको यस पुलमा दुई वटा स्पान रहेका छन् । यो पुल निर्माणका लागि नौ करोड ६१ लाख पाँच हजार ११९ रुपियाँ खर्च भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । भेरी नदीमाथि पुल नहुँदा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने गरेको थियो ।