• ११ असोज २०८१, शुक्रबार

तीनै तहको सरकारलाई कम खर्चिलो बनाउने गरी संविधान संशोधन गर्नुपर्छ : नेता साउद

blog

नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद ।

काठमाडौँ, असोज ७ गते । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले देशमा साधारण खर्च असाध्यै बढेको बताउनुभएको हो । उहाँले राज्यको उत्तरदायित्व बढ्दा त्यसको मार भने जनताले भोग्नु परिरहेको भन्दै सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा खर्च घटाएर चुस्त बनाउनुपर्ने बताउनुभयो । 

उहाँले त्यसका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घमा सरकार परिवर्तन हुनासाथ प्रदेशमा पनि अस्थिरता हुने गरेको भन्दै प्रदेशलाई पनि स्थिर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारलाई स्थिर बनाउने गरी संवैधानिक सुधार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो साधारण खर्च बढेको छ र विकास खर्च न्यून छ । अर्थविद्हरूले स्वीकार गरेको तथ्य हो । हामीकहाँ प्रशासन चलाउनका लागि पनि, राज्य चलाउनका लागि पनि जुन रूपमा हामीले मान्छे भर्ना गरेर या मान्छेको धेरै ठुलो साधारण खर्च विकास गरेर, बढाएर हामीले जसरी उत्तरदायित्वहरू लिइराखेका छौँ । त्यो दायित्वले जनता मारमा परिराखेको छ, जनता कठिनाइमा परिराखेको छ । त्यसकारण हामीले केन्द्र, प्रदेश अथवा स्थानीय तहलाई कम खर्चिलो बनाउनुपर्छ । खर्च घटाउनु पर्छ । चुस्त बनाउनुपर्छ । व्यवहारिक बनाउनुपर्छ । प्रभावकारी बनाउनुपर्छ । त्यो बनाउनका लागि हामीले आफ्नो संविधानमा के–कस्तो संशोधन गर्नु जरुरी छ, त्यतातिर ध्यान दिनुपर्ने अवस्था छ ।’

उहाँले भन्नुभयो– ‘केन्द्रमा सरकार परिवर्तनको कुरा आउने बित्तिकै प्रदेशमा सरकार परिवर्तन हुन्छन् । प्रदेशहरू यति अस्थिर भएका छन् । स्थानीय तह स्थिर छ । केही न केही काम गरिरहेको छ । प्रदेशमा केन्द्रको अस्थिरता धेरै चाँडो पुगिराखेको छ, अस्थिरताले प्रदेशहरू हल्लिइराखेका छन् । त्यसकारण प्रदेशलाई पनि स्थिर बनाउने गरेर, कुनै गर्भनरको माध्यमबाट अथवा अन्य निकायको माध्यमबाट हामीले प्रदेश सरकार स्थिर हुने गरेर संवैधानिक सुधार गर्नसक्छौँ । परिमार्जन गर्नसक्छौँ । र प्रदेशको स्थिरतालाई पनि सुनिसित गर्नसक्छौँ । यो पनि छलफलको विषय हुनसक्दछ ।’

उहाँले समावेशी प्रतिनिधित्वलाई पनि निर्वाचन प्रक्रियाबाटै अनुमोदन गर्ने गरेर अगाडी बढे सक्षम नेतृत्वलाई स्थापित गराउन सकिने उल्लेख गर्नुभयो ।