• ११ असोज २०८१, शुक्रबार

विद्यार्थीमा बेहोस हुने अनौठो समस्या

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर(इलाम) असोज ७ गते । इलामको सूर्योदय नगरपालिका-१ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीमा अनौठो समस्या देखा परेको छ । केहिदिन देखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीमा एक्कासि चिच्याउने, बेहोस हुने, खिन्नता व्यक्त गर्ने जस्ता अनौठो रोग देखा परेको हो । 

विद्यालयका १० जना छात्रा र ३ जना छात्रमा आज सम्ममा उक्त समस्या देखिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार विगत एक महिनादेखि एक-दुई जनामा गर्दै समूहमै समस्या आउन थालेको छ । विद्यार्थीमा समस्या आएपछि सोमबार मनोपरामर्शदाता राजन श्रेष्ठ र स्रोत व्यक्ति खतिवडा विद्यालयमा गई काउन्सीलिङ गर्नुभएको छ । 

विद्यालयमा प्रधानाध्यापक, शिक्षक र समस्या भएका विद्यार्थीलाई अलगअलग राखेर काउन्सीलिङ गरिएको स्रोत व्यक्ति खतिवडाले जानकारी दिनुभयो । मनोपरामर्शदाता श्रेष्ठले तनाव या अन्य कुनै कारणले विद्यार्थीमा उक्त समस्या देखा परेको बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले विद्यार्थीमा उक्त प्रकृतिको समस्या बढ्दै जाँदा अन्य विद्यार्थीमा समेत भय उत्पन्न भएको जानकारी दिनुभयो । गत वर्ष सूर्योदयकै करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीमा लामो समयसम्म उक्त प्रकृतिको समस्या देखिएको थियो ।