• ११ असोज २०८१, शुक्रबार

हेफरबाट प्राप्त गाईको बाच्छी किसानलाई उपहार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । दुई वर्षअगाडि कोरियाबाट सिन्धुलीका किसानले उपहारमा पाएको गाईबाट जन्मेको बाच्छी अर्को किसानलाई उपहारस्वरूप दिन सुरु गरेका छन् । 

हेफर इन्टरनेसनलले आफ्नो ८० औँ वार्षिकोत्सवका अवसरमा शनिबार सिन्धुलीमा आयोजना गरेको ‘पासिङ अन दी गिफ्ट’ (उपहार हस्तान्तरण) कार्यक्रममार्फत एउटा किसानले अर्को किसानलाई सो बाच्छी उपहारस्वरूप दिएका हुन् । २०७९ पुसमा सिन्धुली कमलामाई नगरपालिकाका चार वटा सामाजिक उद्यमी महिला कृषक समूहमा आबद्ध ५१ जना किसानलाई ८१ वटा गाई उपहारस्वरूप वितरण गरेको थियो । 

तीमध्ये ११ जना किसानले अर्को किसानलाई सो गाईबाट जन्मेका बाच्छी वितरण गरेका हुन् । हेफर इन्टरनेसनलले सिन्धुलीमा नेपाल सरकारसँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गरेको छ । त्यसैका लागि त्यहाँ समूहमा रहेका किसानलाई गाई वितरण गरेको थियो । 

हेफरले साना किसानलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य गर्नका लागि सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

हेफरले नेपालको दुग्ध क्षेत्रलाई पूर्ण रूपमा रूपान्तरण गरी आधुनिक बनाउने लक्ष्य लिएको हेफर इन्टरनेसनल एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष निना जोशीले बताउनुभयो । सो लक्ष्य पूरा गर्नका लागि यो परियोजनाले काम गर्ने उहाँले बताउनुभयो । मिल्क वे परियोजनाका लागि दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई सन् २०२२ मा एक सय वटा होलिस्टिन प्रजातिका गाई र आठ वटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसले गुणस्तरीय दुध दिने गाईको प्रजननमा महत्वपूर्ण योगदान पुर्‍याउने दाबी हेफरको रहेको छ ।

मिल्की वे परियोजनाका साझेदारले एउटा सिन्धुलीमा एउटा ‘मोडेल डेरी भिलेज’ स्थापना गर्ने लक्ष्य लिएको छ । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा लिएको उपाध्यक्ष जोशीले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले हेफरले नेपाल सरकारसँग सहकार्य गरेर दुध उत्पादनमा गरेको योगदान सह्रानीय रहेको बताउनुभयो । हेफरले गरिरहेको काममा कृषि मन्त्रालयको पूर्ण सहयोग रहेको अगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो । 

नेपाल दुधमा आत्मनिर्भर भएको हो, अब त्यसको बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले यसमा पनि हेफरको सहयोग रहने बताउनुभयो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण हो जसले किसानमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । कार्यक्रममा हेफर इन्टरनेसनलकी सिइओ सुरिता सन्दोसमले भन्नुभयो, “हामीले हेफर इन्टरनेसनलको ८० औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झन्छौँ । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदार भावनाको प्रमाण पनि हो ।”

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले कोरियाली गाईहरूको आगमनसँगै सन् १९४४ जुलाई १४ मा ड्यान वेस्टद्वारा स्थापित, हेफर इन्टरनेसनलले १७ गाईहरूको एउटा सिपमेन्ट अलाबामाबाट पुएर्टो रिको पठाएर गरिब समुदायको जीवन सुधार गर्न सुरु गरेको थियो र यो नेपालसम्म पनि आइपुगेको बताउनुभयो । उहाँले सिन्धुलीको कमलामाई नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम देशैभर फैलिने बताउनुभयो ।