• ११ असोज २०८१, शुक्रबार

सलेना–राजपुर सडक खण्ड कालोपत्रेको काम हुँदै

blog

डोटीको सलेना राजपुर सडक खण्डमा कालोपत्रे गर्ने कामका लागि राजपुरनजिक सडक चौडा गरिदै । तस्बिरः डिलबहादुर सिंह

डिलबहादुर सिंह 

राजपुर (डोटी), असोज ६ गते । धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।  

आयोजना कार्यालय र निर्माण कम्पनीबिच साउन २२ गते भएको सम्झौताबमोजिम कालोपत्रे गर्ने कामको ठेक्का प्राप्त गरेको निर्माण कम्पनीले सडकको डबल कटिङ, रुख कटानी, पर्खाल लगाउनेलगायतका कामको सुरुवात गरिरहेको छ । 

दिपायलबाट धनगढीको लागि द्रुतमार्गका रुपमा लिइएको यो सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि काम सुरु भएसँगै यस क्षेत्रका नागरिकले समयमा नै सडक निर्माण कार्य सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् । 

‘लामो समयपछि सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशा पलाएको छ’ डोटीको केआईसिं गाउँपालिका –६ का नरेन्द्र बलायरले भन्नुभयो, ‘लामो समयसम्म यो सडक सुरुवात नहुने अवस्था देखेपछि हामी निराश भएका थियौं । आजभोलि तिब्र गतिमा डबल कटिङलगायतका कामहरु भइरहेको देख्दा समयमा नै सडक कालोपत्रे हुने बिश्वास पलाएको छ ।’

विपिनगर डोटीस्थित स्थापना भएको धनगढी खुटिया बिपिनगर दिपायल चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाका सलेना राजपुर सडक खण्ड कालोपत्रे गर्ने कामका लागि भ्याटसहित ४४ करोड १ लाख ९३ हजार ४ सय ८९ रुपियाँ अनुमानित लागत रहेको छ । 

हालको सम्झौताअनुसार तीन बर्ष अर्थात २०८४ साउन २२ गतेभित्र सो सडक खण्डमा कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने छ । डोटी बिकासको मेरुदण्डको रुपमा हेरिएको दिपायल धनगढी द्रुतमार्ग अन्तर्गत डोटीको दिपायलदेखि धनगढीसम्मको दूरी ९६ किलोमिटर रहेको छ । हाल दिपायलबाट धनगढी पुग्न एकसय ९० किलोमिटर दूरी यात्रा गर्नुपर्ने हुन्छ ।