• ११ असोज २०८१, शुक्रबार

२१ करोडको गुम्बा जग भन्दा माथि उठ्न सकेन

blog

खोटाङमा अलपत्र परेको २१ करोडको गुम्बा । तस्बिरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, असोज ६ गते।  खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको गुम्बा अझै जग भन्दा माथि उठ्न सकेको छैन।  

तत्कालीन प्रदेश नम्बर एकका मुख्यामन्त्री शेरधन राईले २०७४ माघ १९ गते शिलान्यास गर्नु भएको ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा जगभन्दा माथि उठ्न नसकेको हो।  नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको गुम्बाको जगको रड खान थालेको छ।  तर, काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन।  

नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट मध्यपहाडी लोकमार्गको छेउमा विशाल गुम्बा निर्माणको काम थालिएको थियो।  करिब २१ करोडमा सम्पन्न हुने गुम्बा ६० फिट अग्लो हुने डिजाइन छ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरेको १५ लाख र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानबाट गुम्बाको जग खन्ने, ढुंगा सोलिङ गर्ने र पिसीसी ढलानको काम पुरा गरिएको थियो।  त्यस लगत्तै प्रदेश सरकारले उपलबध गराएको करिब एक करोड र उपभोक्ता समितिको १० लाख बराबरको श्रमदानबाट गुम्बाको थप काम अघि बढाइएको थियो।  गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच सम्झौता पनि भएको थियो।  तर क्रमागत रुपमा बजेट प्राप्त नहुँदा गुम्बाको काम ठप्प भएको गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङले बताउनुभयो।  नुनथलाका वडाध्यक्ष भगेश्वर राईका अनुसार कतिपयले भने गुम्बाको बजेट खर्चका विषयमा प्रश्न समेत उठाएका थिए।  

गुम्बामा बौद्धधर्मसँग सम्बन्धित १०८ र सिठो लजोको एक सय मुर्ती राख्ने योजना छ।  यस्तै, बौद्ध धर्ममा माटोको मुर्ती पबित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको सय वटा तथा पितल र ढलौटको मूर्ती राखिने व्यवस्थापन समितिले जनाएको छ।  बौद्ध धर्मावलम्बीको जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको थियो।  गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ राईले १ रोपनी ७ आना जग्गा निःशुल्क उपलव्ध गराउनुभएको हो।  

पर्यटकीयस्थलकारुपमा रहेको संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सगरमाथाको दृश्यावलोकन समेत गर्न सकिने भएकाले गुम्बाका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।  पर्यटकीयस्थल नुनथलाडाँडामा निर्माण हुने गुम्बाबाट नांगो आँखाले सोलुखुम्बु, ओखलढुंगाका अग्ला पर्वत तथा सगरमाथा हिमश्रृंखला समेत दृश्य अवलोकन गर्न सकिन्छ।