• ११ असोज २०८१, शुक्रबार

अठार लाख भेटी सङ्कलन

blog

पाथीभरामा सङ्कलन भएको भेटी गणना गर्दै समितिका कर्मचारी । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन र भदौ महिनामा सो भेटी रकम सङ्कलन भएको हो । 

समितिले सार्वजनिक गरेको भेटी विवरणअनुसार चालू आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनामा कुल १८ लाख २६ हजार ५५५ रुपियाँ भेटी सङ्कलन भएको छ । उक्त रकमध्ये साउन महिनाको ६ लाख ९१ हजार रुपियाँ रहेको छ । 

यस्तै, भदौ महिनामा ११ लाख ३५ हजार ५५५ रुपियाँ भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । समितिका अनुसार साउन महिनामा एक हजार ९५५ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । 

भदौ महिनामा नौ हजार ९३९ जना भक्तजन पाथीभरा दर्शनमा पुगेका थिए । दसैँ तिहार नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएकाले यो समयमा पाथीभरामा अत्यधिक तीर्थयात्री आउने गर्छन् ।