• १२ असोज २०८१, शनिबार

कर्णालीमाथि बागमतीको कठिन जित

blog

बल खोस्न अगाडि बढ्दै बागमती र कर्णालीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज ६ गते । बागमती युथ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा बागमतीले कर्णालीलाई १–० गोलले हरायो । बागमतीको जितमा गिफ्टी अचेमपोङले इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै बागमतीले सात खेलबाट सात नै अङ्क बनाएको छ । पराजित कर्णालीले समान खेलबाट चार अङ्क बनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।