• १२ असोज २०८१, शनिबार

गर्मी बढेपछि विद्यालयमा बिदा

blog

मनराशिसवा नगरपालिकाको कार्यालय ।

महोत्तरी समाचारदाता

महोत्तरी, असोज ६ गते । असोज महिनामा पनि अत्यधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । मनराशिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले एक सूचना जारी गर्नुहुँदै असोज ७ गतेदेखि ११ गतेसम्म  पालिकाका विद्यालयहरुमा बिदा दिनुभएको हो । 

उहाँले पालिकाको असोज ६ गतेको निर्णय अनुसार वर्षे बिदामा कट्टा हुने गरि यस नगरपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी बिदा दिइएको जानकारी दिनुभयो । अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई विचार गरी विद्यालयमा बिदा दिइएको हो । 

मनराशिसवा नगरपालिकामा २३ वटा सामुदायिक तथा छ वटा संस्थागत विद्यालयहरुमा करिब आठ हजारभन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन् । महोत्तरीमा केही दिनयता तापक्रम ३५ डिग्रीको हाराहारीमा रहने गरेको छ । 

महोत्तरीकोे अधिकांश विद्यालयको छाना चदराको रहेको कारण गर्मीमा अत्याधिक गर्मी भई विद्यार्थीहरुलाई असहज बनाउने गरेको छ । जलेश्वर नगरपालिका ४ का ६२ वर्षीया जवार धोवीले असोज महिनामा यति गर्मी पहिला आफूहरुले नभोगेको बताउनुभयो । कपडा धुने काम गर्दै आउनुभएका उहाँले असोज महिनाको मौसम न बढी गर्मी न बढी जाडो मिश्रित रहँदै आएको बताउनुहुँदै पहिलो हप्तासम्म यतिको गर्मी बढेकोले कामकाजमा असहजता भएको बताउनुभयो ।