• ११ असोज २०८१, शुक्रबार

अवरुद्ध ढल्केबर-जनकपुर सडकखण्ड सुचारु

blog

धनुषाको सपहीमा सडक सुचारु गर्नुभन्दा अघिको अवस्था । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असोज ६ गते । आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ । सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थीको शङ्कास्पद मृत्युको घटनालाई लिएर सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका थिए । 

अवरुद्ध सडक दिउँसो २ बजेबाट सुचारु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बाटो खुलाउने क्रममा १२ राउण्ड अश्रुग्यास प्रहार गरिएको बताउनुभयो । उहाँका अनुसार त्यस क्रममा नौ जना प्रहरी तीन जना प्रदर्शनकारी घाइते भएका छन्। पीडित पक्षको माग सम्बोधन गर्न पहल भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । 

सिन्धुलीको कमलामाई नगरपालिका–६, सिन्धुलीमा रहेको भगवती आवासीय माध्यमिक विद्यालय कक्षा आठमा अध्ययनरत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका १४ वर्षिय रजनिश साहको भदौ २ गते मृत्यु भएको थियो । सोही घटनालाई लिएर आफन्त तथा स्थानीयले सपही चोकस्थित ढल्केबर–जनकपुर सडकखण्डमा धर्ना बसेर सडक अवरुद्ध गरेको बताइएको छ । 

मृतक विद्यार्थीका पिता गणेशकुमार साहले घटनाको सत्यतथ्य छानविन र दोषी उपर कारबाहीको माग गर्दै सडक अवरुद्ध गरिएको बताउनुभयो । घटनाको एक महिनाभन्दा बढी समय भइसक्दा पनि सिन्धुलीको प्रहरी प्रशासनले उचित छानबिन नगरेको र जाहेरी दर्ता गर्न आलटल गरेपछि बाध्य भएर सडकमा आउनुपरेको उहाँले जानकारी दिनुभयो । 

विद्यालयको प्रधानाध्यापक र होस्टलको वार्डेनको यातनाले छोरा रजनिशको मृत्यु भएको दाबी गर्दै साहले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लले विद्यालयसँग मिलेर वास्तविक घटना लुकाउन खोजेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, "विद्यालयमा ९६ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ । घटना भएकै स्थानको दुई वटा क्यामरा बिग्रिनुपर्ने । सत्यतथ्य छानबिनका लागि जाहेरी दर्ता गराउन खोज्दा पनि प्रहरीले दर्ता गरेन । घटनास्थलको मुचुल्का पनि उठाएको छैन ।" निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुनुपर्ने हाम्रो माग रहेको साहले बताउनुभयो ।