• १२ असोज २०८१, शनिबार

नाटक ‘घरजम’ प्रदर्शन हुने

blog

प्रदर्शनको तयारीमा रहेको नाटक ‘घरजम’ । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, असोज ६ गते । राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको नाटक ‘घरजम’ लेखिएको भूमि इलाममै प्रदर्शन हुने भएको छ । इलामका साहित्यकार माधव भण्डारीद्वारा लिखित घरजमलाई इलाममे कलाकारले रङ्गमञ्चमा उतारेका थिए ।

हरिप्रसाद–कल्याणी रिमाल राष्ट्रिय नाट्य–संगीत प्रतिष्ठानले एक साताअघि काठमाडौंैमा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव–२०८१ मा पहिलो भएपछि जिल्ला फर्किएका कलाकारले पहिलो पटक इलाममा नाटक प्रदर्शनको तयारी थालेका हुन् । 

असोज ८ गतेदेखि १७ गतेसम्म इलाम सदरमुकाममा देखाइने नाटकले विस २००८ सालदेखि महिलाले समाजमा गरेको संषर्घ र शिक्षा क्षेत्रमा गरेको योगदानका विषयमा चित्रण गरेको नाटकका निर्देशक अन्वेस थुलुङ्गले बताउनुभयो । 

स्वर्गीय विपी कोइराला प्रधानमन्त्री भएका समयमा इलामबाट हुर्कीएकी नेतृ सरस्वती राई र भारतको दार्जिलिङबाट इलामसम्म आएर शिक्षामा योगदान गर्ने डा. लक्कीदेवी सुन्दासजस्ता महिलाले इलाममा सरस्वती कन्या विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउन गरेको कामलाई नाटकको दृश्यमा देखाइएको छ । 

नाटक इलामकै चेतना नाट्य समूहले प्रस्तुत गर्न लागेको हो । हरिप्रसाद–कल्याणी रिमाल राष्ट्रिय नाट्य–संगीत प्रतिष्ठानले नाटक महोत्सवमा देशभरका ३१ नाटकलाई उछिन्दै ‘घरजम’ ले एक लाख रुपियाँ पुरस्कार जितेको थियो । 

करिब एक घण्टाको नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाईं, समीर राई, रेविका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाको अभिनय छ । आज पत्रकार सम्मेलन गर्दै चेतना नाट्य समुहले इलाममा नाटक देखाउन लागेको जानकारी दिएको छ ।