• ११ असोज २०८१, शुक्रबार

नागरिक पेन्सन योजना विस्तारमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । नागरिक लगानी कोषले प्रदान गरिरहेको विभिन्न सामाजिक सुरक्षाका योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल गरिएको छ । छलफलमा सहभागीले कोषले प्रत्याभूत सामाजिक सुरक्षाका कारण आबद्ध व्यक्ति तानवरहित हुने गरेको भन्दै यसलाई निजी क्षेत्रमा समेत विस्तार गर्ने अवसर रहेको औँल्याइएको छ ।

कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिन आमनागरिक, निजी क्षेत्र, सङ्गठित क्षेत्रमा कार्यरत सबै व्यक्ति कोषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्यले एउटै प्रकृतिका तीन वटा कोष सञ्चालन गरेकाले कुनमा आबद्ध हुने भन्नेमा अन्योल रहेको टिप्पणी गर्नुभयो ।  

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी प्रतिनिधिले कोषले सञ्चालन गरिरहेका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकाक योजनाबारेमा प्रश्न राखेका थिए । 

कोषको कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष छुट्टाछुट्टै प्रकृति र आवश्यकता अनुसार स्थापना भएको बताउनुभयो ।  उपदान कोषमा सरकारले १५ प्रतिशत कर निर्धारण गरे पनि अदालतले पाँच प्रतिशत मात्रै कर कट्टी गर्न आदेश दिएकाले सोही अनुसार भइरहेको जानकारी उहाँले दिनुभयो । शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतमले शाखाले सञ्चालन गरिररहेका सेवाबारेमा जानकारी गराउनुभयो ।